Kath khabar
भक्तपुर २ मा एमालेका महेश बस्नेतलाई पराजित गर्दै कांग्रेसका दुर्लभ थापा विजयी

 

               भक्तपुर, मंसिर ८ । भक्तपुर जिल्ला क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का महेश बस्नेतलाई ९ सय ५९ को मतान्तरले पराजित गर्नुभएको हो ।

थापाले २४ हजार २३८ मतले अग्रता प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार २७९ मत प्राप्त गर्नुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार ९९१ मत रहेको थियो ।

भक्तपुर-२ मा विसं २०४६ मा बहुदल पुनःस्थापनापछि कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् । विसं २०४८ मा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा यसपछि क्रमश विसं २०५१ को मध्यावधि निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला, ०५६ को निर्वाचनमा पुन कांग्रेसका लेखनाथ न्यौपाने, ०६४ सालको निर्वाचनमा नेमकिपाका सुनील प्रजापति, २०७० सालको निर्वाचनमा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।

भक्तपुर क्षेत्र-१ मा नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले पाँच हजार ९७३, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले तीन हजार ७३३, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार ३५२ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।

कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । मत गणना सक्दा दुई हजार ५३ मत बदर भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update