Kath khabar
तन्त्र मन्त्र र परम्परा

           काठमाडौँ, जेठ २८। तान्त्रिक हिलिङ तथा प्राकृतिक चिकित्साका विद्वान, आध्यात्मिक शक्ति जागरण सँगसँगै आर्थिक समृद्धिको सम्भावनाबारे गहन खोज अनुसन्धान गरी भर्खरै आफ्नो ज्ञान वर्धक पुस्तक 'तितेपाती' प्रकाशनमा ल्याउनु भएका तन्त्र साधक उत्तम कुमार बज्राचार्य । आफ्नो तन्त्र साधना, पिता पुर्खादेखिको आयुर्वेदिक तान्त्रिक ज्ञान, तन्त्रको परिभाषा र इतिहास अनि हामी हिन्दु बुद्धिष्ट बाहेक अरु विदेशिहरुमा पनि रहेको विविध परम्परागत तन्त्र, ज्ञान, उपचार पद्धति आदि बारेमा यसो भन्नुहुन्छ :-

पाटन भिन्छेबहालको रैथाने बज्राचार्य परिवार हो हाम्रो । झारफुक र तन्त्र मन्त्र बाजेहरुबाट सिकेको हो बालापनमै । पछि स्वअध्ययनबाट निखार आएको हो । तन्त्रमन्त्र, झारफुक, आयुर्वेदिक उपचार आदि देख्दा अचम्म पनि लाग्थ्यो अनि पिता पुर्खाको त्यही रगत ममा पनि भएर होला सायद केही शक्ति मसँग पनि छ र त प्रयोग गर्न सकिरहेको छु । आफ्नै बाजेहरु, चन्द्रमान गुभाजु, मोहन राज पण्डितहरू चर्चित र प्रसिद्ध हुनुहुन्थ्यो त्यतिबेला । पछि जब अलि उमेर छिपिँदै जादा यस्ता क्रियाकलापका वैज्ञानिक कारणहरू पनि बुझ्दै गइयोँ। म त अझ ट्रेकिङ व्यवसायी पनि भएकोले हिमाली क्षेत्रतिर जाँदा लामा गुरुहरुबाट पनि प्रशस्त ज्ञान लिएको छु । तन्त्र र आयुर्वेदिक दुईटैको । उच्च हिमाली भेगमा पर्यटकहरूलाई लेक लाग्दा लसुनको सुप बनाएर खुवाउँथे । हिलिङ्ग प्रयोग गरेर पनि कतिपय रोगको उपचार गर्थेँ। यि यस्ता कामले गर्दा मलाई धेरैले डाक्टर भनेर बोलाउथेँ । त्यही पिता पुर्खाको तन्त्र, मन्त्र हिलिङ्ग झारफुक आयुर्वेदिक उपचार आदिसँग सामिप्यता, परिष्कृत स्वअध्ययन र परिक्षण (आफैंमा पनि र अरुमा पनि) आदिको कारणले मेरो बोली र हातमा केही शक्ति चाहि छ ।

बाजेहरुकै पालामा मुख बाङ्गो (अहिलेको भाषामा फेस प्यारालाइसिस) भएको व्यक्तिलाई समेत बाजेहरुले कुचोले झार्दै झार्दै ठीक पारेको देखेपछि यो विषयमा अझै उत्सुकता बढेको हो ।

द्वन्द्वको चरमोत्कर्षको बेला सन् २००२ मा ट्रेकिङ व्यवसाय धराशायी भएपछि एकजना जापनिज साथीको निमन्त्रणामा जापान जाँदा दुईवटा घटनाबाट अत्यन्तै प्रभावित भएँ म । एउटा उनीहरूले गर्ने गरेको तितेपातीको प्रयोग जुन प्रत्येक जसो खानामा, सुपमा अनि तातोपानीमा हालेर चिया जसरी खाइन्छ । अझ रोचक त त्यो तितेपाती नेपालबाट जाँदो रहेछ । अनि अर्को चाहिँ उनीहरूले जोगाएको परम्परा, रीतिरिवाज र पुरातन संस्कृति ।

जापनिज टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेको 'आत्मा' बोलाउने कार्य करिब ३-४ घण्टाको प्रयासपछि जापनिज गुरुले गर्नुभएको अथक मेहनतपछि एउटा आकृति आधा पाकेको (काँचो) भातबाट सररर उठेर त्यो कोठामा ३/४ फन्का लगाएर झ्यालबाट बाहिर गयो । त्यसपछि त मलाई झन त्यतापट्टि उत्सुकता जाग्यो किनकी यो त आफ्नै बाउ, बाजे, बराजुहरुले गर्नुभएको काम । जापान जस्तो आधुनिक विकसित देशमा यहि चिजको त्यत्रो महत्व छ तर हामी बढि आधुनिक भैदिएर यस्ता क्रियाकलापहरुलाई अन्धविश्वास र आडम्बर भन्दैछौ ।

प्रत्यक्ष उदाहरण एउटा छ । मेरो बाह्रौ पुस्ता अघिको लाखे गुभाजुृ (धनन्जय आजु) यहि पाटन टंगालको बालकुमारीलाई जगाएर शक्ति लिएर तिब्बतसँगको लडाईमा मलह अर्थात भैरब तन्त्र प्रयोग गरेर धेरै ठाउँमा कब्जा गरेर फर्किनु भएको प्रमाणिक इतिहास छ । त्यतिबेलादेखि मेरै पालासम्म पनि नेपालको राजदरबारबाट प्रत्येक दशैंमा रु ५०० आउथ्यो । राजतन्त्र हटेसँगै त्यो चलन पनि हट्यो । भिन्छेबहाल टोलमा दशैंको समयमा सेनाकोे सानो टुकुडी आएर सलामी दिने चलन र ठाउँ यद्यपी छँदैछ ।

पश्चिमा देशहरु अमेरिका, बेलायत, जर्मनी, बेल्जियमका विद्धान, वैज्ञानिकहरुको विभिन्न समयको खोज अनुसन्धानले पनि हाम्रो देश नेपाल आफैँमा र अझ विशेष रुपमा काठमाडौँ उपत्यका, तान्त्रिक भूमि भएको र विशेषगरी बज्राचार्य र कर्माचार्यहरु तान्त्रिक नै भएको पुष्टि गरिसकेको छ ।

भौतिक विज्ञानको विकासले त केवल भौतिक क्षणिक सुख मात्रै दिन्छ । शान्ति, आनन्द, स्वस्थता, निरोगिता केहि दिँदैन । यो सब त अध्यात्मकताबाट आउँछ ।

हामी आज विश्वकै पुरानो भाषा संस्कृत भाषाको विरोध गर्दैछौं । तर पश्चिमाहरू यहि भाषा आफ्नो युनिभर्सिटीमा पढाउदैछन् । उताबाट पुनः उत्पत्ति हुदैछ । भोलिका दिनमा यहि चिज उतैबाट आएको भन्न के बेर ? हाम्रो पौराणिक ग्रन्थ “बेद” सक्कल नै जर्मनीमा छ, अनि यो भन्दा बिडम्बना अरु के हुन्छ ?

मैले जुन जापानको प्रसङ्ग उठाए नि, उनीहरु त आफ्नो रितिरिवाज, परम्परा उच्च महत्वका साथ अति नै बयान गर्छन् । तर हामी जडिबुटी, परम्परा, तन्त्र साधनको वास्तै गर्दैनौ । मैले जापानबाटै ‘हिलिङ्ग’ सिकेर आएको हो, एकजना गुरुसँग । उहाँले पनि मलाई धेरै मान्ने । हिलिङ्ग भन्नाले राम्रो गर्ने, स्वस्थ बनाउने, बिग्रेको चिज बनाउने, नकारात्मक उर्जा हटाउने भन्ने बुझौं न । हिलिङ्ग सिकेर आईसकेपछि मलाई अझ बढि अध्यात्मतिर र आयुर्वेदिक स्वास्थ्यतिर झुकाव भयो । पछिल्लो समय नर्बदा हेल्थ होम एण्ड आयुर्वेदिक रिसर्च सेन्टर खोलेर पनि काम गर्न थाले । काम गर्दै जाँदा केहि कमि कमजोरी महसुस भयो । मैले गरिरहेको त सतही मात्र रहेछ, हाम्रा पुर्खाले त भित्रैदेखि गरेको रैछन् भनेर म अझै तन्त्र मन्त्र सिक्न थालेँ अनि एक प्रकारले म तान्त्रिक हिलरको रुपमा चिनिन थालेँ ।

हाम्रो शरीरमा ५ वटा तत्व हुन्छन् । जस्तै आकाश, वायु, अग्नि, जल, भूमि र हामीलाई बिगार्ने भनेको छैठौं तत्व हुन्छ जुन आँखाले देखिँदैन । तर काम गरिएको हुन्छ । जस्तै उदाहरणः मानसिक रोग- हामी देख्दैनौ यसको उपचार आधुनिक विज्ञानले गर्न सक्दैन त्यसैले यसको उपचारको लागि तन्त्रको प्रयोग गर्नुपर्छ । त्यस्तै, पैसा- यो पनि छैठौं तत्व हो । महत्व छैन तर नभई हुन्न । ५ वटा देखिने तत्वमा साधना र मेहेनत गरेपछि यो प्राप्त हुन्छ । यस्तै अर्को हो डर- जसबाट डिप्रेसन, एन्जाइटी, फियर आदि मानसिक रोगहरु हुन्छन् यसलाई पनि आधुनिक विज्ञानका औषधिले नभई तन्त्र मन्त्रको प्रयोगले निर्मुल गर्न सकिन्छ ।

मायाजालमा पार्ने, मोहनी लगाउने, आफूलाई अरुबाट आकर्षित गराउने आदि पनि छैठौं तन्त्र अन्तर्गत पर्छ ।

मुख्य मुख्य तन्त्रहरु यस प्रकार छन् -
१) मारोन तन्त्र
भय, महामारी नियन्त्रण गर्ने । अहिले पनि नेपालमा अतिवृष्टि, क्षय आदि रोक्न सक्ने गुरुहरु हुनुहुन्छ । तर उहाँहरु आफैँ केही गर्नु हुन्न हामीले भन्नु पर्छ । मैले सुने अनुसार प्रथम गायिका मेलवादेवीले गीत गाएर पानी पार्न सक्नुहुन्थ्यो । यो संगीतमा तन्त्र शक्तिको दरिलो उदाहरण हो ।

२) मोहन
पश्चिम देशहरुमा हिप्नोटिज्म भन्छन् भने हामी सम्मोहन, बशिकरण आदि भन्छौ । हामी यसलाई नराम्रो भन्छौ, तर उनीहरु हिप्नोटिज्म थेरापी भनेर उपचार गर्छन् । यो धेरै नै माथिल्लो लेवलको उपचार पद्धति हो । ९९ प्रतिशत स्वास्थ्य सम्बन्धि, आर्थिक, सामाजिक, व्यक्तिगत सबै समस्या समाधान गर्न सकिन्छ, यो पद्धतिबाट ।

३) उच्चाटन
यो चाहिँ नराम्रो कुराहरु आफू र आफ्नो वरिपरिबाट भगाउने तन्त्र हो । निश्चित रेखा, सिमानाभित्र केही नराम्रो चिज आउन नसक्ने । रामायणको लक्ष्मण रेखा जस्तो । केही अघि म देवघाट आश्रम पुगेको थिए । त्यहाँ हुनुभएका एकजना सन्तले मलाई टिभीमा देख्नुभएको रहेछ । २ दिनसम्म उहाँले विचार गरेर मलाई चिनिसकेपछि भन्नु भयो कि, "पहिले पहिले बज्राचार्यहरुले देशको सीमा तोक्नु हुन्थ्यो रे, एउटा तान्त्रिक रेखा कोरेर मन्त्र गरेर छोडेपछि दुश्मनहरु त्यो रेखा तोडेर आउन सक्दैन थिए रे । अहिले त हाम्रो देशमा पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर सीमामा मिचिराखेको छ, तपाईहरु सक्नुहुन्छ, केही गर्नुस् न !" यति सुनेपछि त मलाई रुनै मन लाग्यो, मेरो महान पुर्खाहरु पनि सम्झिए मैले । र म अहिले मेरा पुर्खाले गरेका यो कामहरुको बारेमा सोध खोज गरिराखेको छु ।

४) विद्धेषन
घर कलह, पारिवारिक कलह, सामाजिक कलह आदि साम्य पारेर त्यहाँ मायालु वातावरण पनि सिर्जना गर्न सकिन्छ ।

५) शान्तिकर्म
हामीले आधुनिक जीवनशैलीबाट पाउने भनेको भौतिक सुख मात्रै हो । तर शान्ति, आनन्द, हाँसो, खुशी, उन्नति, प्रगति भनेको त आध्यात्मिक शक्तिबाटै पाइन्छ ।

विज्ञानले पहिले खोज अनुसन्धान गर्छ तब बल्ल निर्णय दिन्छ तर हामी यी यस्ता चिजलाई सिधै अन्धविश्वास भन्छौ अनि केही पनि गर्दैनौ । हामी त महामूर्ख हौँ। म त भन्छु, स्कुल, कलेजमा यो तन्त्र ज्ञान समावेश गर्नैपर्छ । जसले यी चिजलाई अन्धविश्वास भन्छन् तर म यो प्रयोग गरेर प्रमाणित गराउन सक्छु ।

मैले आफैँले धेरै अध्ययन गर्दा तिब्बतसँग मुख्य २ वटा ठुला युद्धहरु भएका थिए । कुन चाहिँमा यो तान्त्रिक युद्ध भएको थियो अझै यकिन त छैन तर १२ पुस्ता अघिको जिजुबुबा हो । त्यतिखेर तिब्बतको तिलिचो भन्ने ठाउँसम्म नेपाली सेना पुगेर जितेर आएको हो । म अन्य विद्धानहरुसँग अझै विस्तृत सल्लाह गरेर निक्र्योल गर्दैछु । करिब ४०० वर्षभन्दा अघि नै हो । त्यतिखेर सन्धि सम्झौता गर्दा तिब्बतीहरुले नेपाललाई वर्षेनी केहि रकम तिर्नुपर्ने नियम राखेर आउनु भएको हो। हामीले त्यो सम्झौता गर्दा हाम्रो मात्रै कुरा माथि पर्नेगरि भएको थियो । अब अर्को प्रसङ्गतिर लागौं -

तन्त्र र तितेपाती
तितेपाती र तन्त्रको मजबूत सम्बन्ध छ । हिलिङ्ग गर्दा जुन रक्षात्मक शक्ति शरीरमा राख्नुपर्छ, मलाई थाहा नै थिएन । जस्तोः हिलिङ्ग गर्दा बिरामी पर्ने अवस्था आयो । अनि मैले यहि बिषयमा रिसर्च गर्न थाले । जस्तै अन्य बिषयहरुमा पनि गहन अध्ययन गर्न थाले । टिका किन लगाइन्छ र ? पुजा किन गरिन्छ ? धुप किन बालिन्छ र ? आदि बारेमा त अलि बढि नै अध्ययन गरेँ । धूप बाल्दा त्यसले सुगन्ध मात्र दिने नभई वरिपरिको वातावरणकै कैंयौ कुराहरु रक्षा गर्ने रहेछ । अनि धूप बनाउँदा पहिले पहिलेको पुर्खाहरुले मिसाउने चिजहरुको अध्ययन गरेँ । मुख्य र महत्वपुर्ण चिज तितेपाती पाएँ । यहि हाम्रो चक्रपथको वरिपरी टन्नै पाइन्थ्यो । अनि मैले त्यो प्रयोग आफैमा गर्दा ९०% भन्दा बढि फाइदा भएको पाएँ । यो तितेपाती सिजनल वनस्पति हो, त्यसैले मैले अफ सिजनको लागि तेल निकालेँ। यसरी कसो कसो म तितेपाती प्रति एकदम नजिक भएँ । अनि म तितेपातीको पात, मुन्टा सुँघ्दै, निमोठ्दै हिँड्न थालेको देखेर बुढापाकाहरुले यसको औषधीय गुणको बारेमा बताउन थाल्नु भयो। हात खुट्टामा चोट लाग्दा काट्दा यसको प्रयोगले तुरुन्तै रगत बग्न रोकिन्थ्यो । यसका फाइदाहरुका बारेमा सुनेको, देखेको सबै कुराहरु सबै टिपोट बनाउन थालेँ । अनि सम्झिन पनि थालेँ आफ्ना बाल्यकालका कुराहरु । आमा, बज्यैहरुले सानोमा ज्वरो आउँदा तातो पानीमा तितेपाती राखेर खुवाउनु हुन्थ्यो । टाउकोमा असाध्यै जुम्रा पर्थ्यो। अनि तितेपाती पानीले भिजाइदिनु हुन्थ्यो अनि एकछिन पछि नुहाउँदा सबै जुम्रा खस्थ्यो । बज्यै, जिजु बज्यैहरुले धुप बनाउँदा पनि हामी तितेपाती टिपेर दिन्थ्यौं ।

यी यावत कुराहरुले गर्दा आफै अध्ययन गर्दै, लेख्दै गएँ। जहाँ जहाँ गएँ त्यहाँबाट पनि यसको महत्व, विशेषता बटुल्दै गएँ । हिलिङ्ग थेरापी गर्दा पनि यसको तेलको प्रयोगले तुरुन्तै दुखाई कम हुन्छ । हिलिङ्ग थेरापी गर्दा तितेपातीको तेलको प्रयोग नगर्दा र गर्दा हजार गुणा फरक पाइयो यानेकि प्रयोग गर्दा हजार गुणा प्रभावकारी भएको पाइयो ।

मलाई धेरै शुभचिन्तक मित्रहरुबाट तेलको बजारिकरणको सुझाव पनि आयो । तर गाह्रै रहेछ । चुरोट र चाउचाउ जस्तो बेच्नेले पनि नसक्ने अनि किन्नेले पनि नकिन्ने रैछ । फेरी बेचिसकेपछि पैसा उठाउन पनि त्यत्तिकै गाह्रो । बाहाना मात्रै बनाउँछन् अनि मैले त्यसो गरिन ।

पछि काठमाडौँ विश्व विद्यालयको ‘स्रोत देखि उद्योगसम्म’ भन्ने आइडिया कम्पिटिसन हेरेँ । पहिले हेरेँ अनि दोश्रोमा भाग लिनै खोजेको तर मिलेन अनि तेस्रोमा भाग लिए र तितेपातीकै प्रस्तुतिबाट म प्रथम भएँ, सन् २०१८ मा । त्यहाँको आइडिया स्टुडियोबाट रु ५ लाख सिड मनि पनि दिने कुरा भएको थियो तर ब्रान्डिङदेखि धेरै कुरा गर्नुपर्ने रहेछ । त्यो पाँच लाख लिन पनि गएको तर मुख्य मुख्य उद्योगपतिहरुले खासै वास्ता गरेनन् । आइडिया स्टुडियोले चाहिँ अलि पोजिटिभ रेस्पोन्स गरेको थियो । अन्तराष्ट्रिय क्षेत्रमा भएको तितेपातीको प्रयोगको पनि विस्तृत अध्ययन गरे । कोरियन अक्युपन्चर प्रविधिमा पनि तितेपातीको महत्वपुर्ण प्रयोग देखेँ।

जापानकै प्रसंगमा मैले अझ धेरै परम्परागत जापानिज खानामा प्रयोग गरेको देखेँ। सुपमा, पाउडरको रूपमा अनि अझ हामीले माथिबाट धनिया छर्केको जस्तो गार्निशको रूपमा । त्यहाँ नेपालबाटै जाँदो रहेछ र त्यहाँ तितेपातीलाई ‘सिरोई ओमेगी’ भनिदो रहेछ ।

मेरो आफ्नै प्रयोगमा पनि मेडिकल डाक्टरले एकजना बिरामीको घुँडामुनिको भाग काट्नु पर्छ भन्नु भएकोमा हिलिङ्ग सहितको तितेपाती प्रयोग गर्दा उहाँ अहिले आफै हिड्न सक्ने हुनु भएको छ ।

एकजना अधिकृत (नाम बिर्सिए मैले) शिक्षा मन्त्रालय, संस्कृत विभागको प्रमुखले मलाई पहिलो सुझाव दिनुभएको हो किताब लेख्नलाई । उहाँ सहित धेरै जनाले तपाईको एउटा अन्तरवार्ता नै किताब बन्छ, यदि तपाइले किताब नलेखी छोड्नु भयो भने तपाईको नामै मेटिन्छ भनेर मलाई धेरै पटक सल्लाह सुझाब दिदै घच्घच्याउन थालेपछि बल्ल यो किताब लेखेको हो ।

तितेपाती र यसको तेलले पूर्ण रूपमा नकारात्मक उर्जालाई नियन्त्रण गर्छ । हाम्रो तान्त्रिक किताबहरुमा पनि यसबारे प्रशस्त उल्लेख छ । तन्त्र मन्त्रमा त हामी भुत, प्रेत, पिचास, डंकिनी आदिमा खेलिरहनु पर्छ । उनीहरुलाई मनाउन, बिगार्नबाट बचाउन पनि तितेपातीको प्रयोग गरिन्छ ।

सबैभन्दा बढी प्रयोग किराँती जातीले गर्ने भएर ब्रिटिशहरुले यसलाई किराँती प्लान्ट पनि भन्छन् । बौद्ध धर्म र हिन्दु धर्मको कुनै पनि पूजापाठमा तितेपातीको प्रयोग गरेकै हुन्छ । घर चोख्याउँदा पनि तितेपातीको जल प्रयोग गरिन्छ । पञ्चामृत खुवाउँदा पनि तितेपातीले नै घोलेर खुवाउने चलन छ । किराँतीहरुले बच्चा जन्मिंदा पनि र मृत्यु हुँदा पनि तितेपाती बालेर धुवाउने चलन छ । एक गाउँबाट अर्को गाउँ जाँदा वा टाढा जाँदा महिलाले चुल्ठोमा, पुरुषले टोपीमा, इस्टकोटको खल्तीमा, बच्चाहरुले हातैमा पनि लिएर जाने परम्परागत चलन रही आएको छ ।

यसको वैज्ञानिक कारण चाही ‘भोलाटायल आयल’ जुन यसमा हुन्छ, यसले भाइरस, ब्याक्टेरिया या फंगस संक्रमण रोक्छ । ९८% अक्सिजन यसले उत्पादन गर्छ । हावामा भएको टक्सिन र कार्बन आफुले लिएर अक्सिजन दिने प्लान्ट पनि तितेपाती नै हो । तितेपातीको प्रयोगले मलेरिया, पाठेघरको क्यान्सरसम्म पनि निको भएको उदाहरण प्रशस्त छन् ।

आधुनिक विज्ञान बाहेक आयुर्वेदिक चिकित्सामा नोबेल पुरस्कार अहिलेसम्म जम्मा एक जना चिनको वैद्य (TMC) यु यु चु ले सन् २०१५ मा पाउनु भएको छ ।

यस्ता यस्ता उदाहरणहरुले गर्दा म पनि यसमा अझै उत्साहित छु र लागिरहने छु । विस्तृत जानकारीको लागि ‘तितेपाती’ पुस्तक पढ्न या नर्बदा हेल्थ होम एण्ड आयुर्वेदिक रिसर्च सेन्टरमा सम्पर्क राख्नु हुन अनुरोध छ ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update