Kath khabar
नेपालकै प्रथम गौरवशाली अन्तराष्ट्रिय गोल गर्ने खेलाडी यम ब. घले ( Y.B. Ghale )

           काठमाडौं, जेठ २९ । खेलकुद धेरैको रुचिको विषय हुन सक्छ । त्यसमाथि फुटबल भनेपछि तपाई हामी मध्ये त कति हुरुक्क पनि हुन्छ । अझ नेपाली टिमको खेल कुनै विदेशी राष्ट्रसँग पर्यो भने त रङ्गशाला खचाखच भरिएको ज्वलन्त उदाहरणहरू हामीले देख्दै आएका पनि छौं

तर नेपालले पहिलो अन्तराष्ट्रिय स्तरको गोल कहिले र कसको विरुद्ध कसले गरेको थियो भन्नेबारे कति अनभिज्ञ पनि हुनसक्छौं । नेपालले सन् १९८२/११/ मा (वर्ल्ड कप) विश्वकप छनौट भैसकेको राष्ट्र कुवेतसँगको एसियन गेम्स (Asian Games) मा ३-० को हार ब्यहोरिरहँदा ३-१ गोल फर्काउने क्रममा वाइ. बि. घलेले गरेको गोल नै नेपालको पहिलो अन्तराष्ट्रिय गोलको रूपमा दर्ता भएको हो ।

वाइ. बि. घलेको पुर्ख्यौली गोरखाको बारपाक भएतापनि बुबा गोर्खाली पल्टन भएको कारण जागिरको सिलसिलामा अल्मोडा नैनितालमा रहँदा सन् १९६०/११/२३ गते वाइ. बि. घले (यम बहादुर घले)को जन्म भयो । चार दाजु भाइ तथा चार दिदी बहिनी मध्ये वाइ. बि. घले साहिँलो हुनुहुन्छ ।

दोस्रो विश्वयुद्धताका ब्रिटिश गोर्खा आर्मीमा नेपालीहरुको वीरताको परिचय दिँदै बर्मामा युद्ध लड्दा गोली लागेको घाइते अवस्थामा पनि १५/२० जना दुश्मनलाई एउटा खुकुरीको भरमा सबैलाई एकै चिहान बनाउनु भएका वीर गजे घले दोस्रो विश्व युद्ध भिक्टोरिया क्रस पाउने प्रथम व्यक्ति हुनुहुन्छ ।

दोस्रो विश्व युद्धको अन्त्यपछि उहाँको कार्यथलो इस्ट इन्डिया कम्पनीको साथ भारतको विभिन्न राज्यहरूमा हुन गयो । भारतको बनारस हिन्दु युनिभर्सिटी (BHU) मा अध्ययनरत रहँदा बिएसएच (BSH) मार्फत फुटबल खेल्नुहुन्थ्यो । २१ वर्षको जल्दोबल्दो वाइ. बि. घले १९८१ मा नेपालको राष्ट्रिय टोलीमा सामेल हुन काठमाडौं आउनुभयो । उहाँका समकालीनहरूमध्ये राजु शाक्य, किरण राई, धिरेन प्रधान, गणेश थापा, सुरेश पन्थी, लोक ब. शाही, भक्तराज राजकर्णिकार, मान ब. मल्ल, कृष्ण थापा, श्रीराम रञ्जितकार, अग्रज रूपक राज शर्मा (१९९२ को PIA हवाई दुर्घटनामा दिवंगतपछि रूपक स्मृतिकपको स्थापना भयो) हुनुहुन्थ्यो।

सन् १९८२/११/८ मा भारतमा आयोजना भएको एसियन गेम्समा नेपालले विश्व कपमा छनौट भैसकेको राष्ट्र कुवेतसँग भिड्दै थियो । कुवेत कमजोर अवश्य पनि थिएन र नेपाली खेलाडीहरूलाई निकै चुनौती र दवाव पनि थियो । उक्त खेलमा नेपाललाई ३-० गोलले उछिन्दै कुवेतको विजय निश्चित नै थियो। नेपाली टिम निकै प्रेसरमा थियो तर उक्त खेलको ७५औँ मिनेटमा दायाँ तर्फबाट बललाई अघि बढाउदै थिए वाइ. बि. घले, कुवेतको डिबक्समा पुग्दा नपुग्दै स्ट्राइकर रूपकराज शर्माले पास माग्दै गर्दा उहाँले अँ...अं....अं हुन्छ........हुन्छ भन्दै सिधै गोल पोष्टमा प्रहार गरे र उक्त प्रहार गोलमा परिणत हुनपुग्यो । त्यो गोल नै नेपालले गरेको पहिलो अन्तराष्ट्रिय गोलको रुपमा दर्ता हुनपुग्यो र वाइ. बि. घले नेपालकै प्रथम गौरवशाली अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको नाममा सूचिकृत हुनुभयो । उक्त खेलमा नेपालले पराजय भोग्नु परे पनि फुटबल प्रेमीहरुको लागी भने वाइ. बि. घलेको उक्त गोलले निकै प्रशंसा बटुल्यो।

त्यसपछि नेपाली फुटबलले अर्को फट्को मार्यो, १९८४ को सेप्टेम्बरको साउथ एशियन गेम्स (SAG) मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै गोल्डमेडल नै हात पार्यो । नेपाली खेलकुद जगतमै यो अहिले सम्मकै ठूलो उपलब्धि हो । अहिलेसम्म पनि रहि नै रहेको छ। वाइ. बि. घलेको सो अन्तराष्ट्रिय गोलपछि भारतको टाटा कम्पनीले हबिब र अकबर (जो भारतिय राष्ट्रिय खेलाडी पनि थिए) मार्फत वाइ. बि. घलेलाई टाटा कम्पनीबाट खेल्नको लागि भा.रु. ५०,००० सहित प्रस्ताव आयो ।

यस अर्थमा नेपालको पहिलो प्रस्तावित व्यवसायिक खेलाडीको रूपमा पनि वाइ. बि. घलेलाई लिन सकिन्छ । तर नेपाल फर्किए पश्चात् आफ्नै देशलाई प्रतिनिधित्व गर्दै खेल्ने निर्णय लिँदै सो प्रस्तावलाई बेवास्ता गर्दै सन् १९८२-८६ को एसियन गेम्सको छनौट र १९८६ र १९९० को विश्वकप छनौटमा भिड्नु भयो वाइ. बि. घले ।

त्यसैगरि १९९५-२००३ सम्म एन्फा (ANFA) मा कार्यकारी सदस्यको कार्यकाल सम्हाल्दै गर्दा एन्फाका अध्यक्ष गणेश थापा विवादमा परेपछि उहाँले राजिनामा दिनु भयो र नेपाल व्याडमिन्टन एसोसियसनमा अध्यक्षको पदभार सम्हाल्नु भयो । अध्यक्ष रहँदा एकदिन व्याडमिन्टन खेल्ने क्रममा कर्कले आँखामा लागेर घाइते पनि हुनुभयो । आँखाको उपचार त भयो तर पहिले जस्तो यथास्थितिमा भने फर्कन सकेन ।

सन् २०१३ मा वाइ. बि. घलेको परिवारमाथि एक्कासी ठूलो बज्रपात पर्यो। विधिको विडम्बना बिहानीको मिर्मिरेमा अचानक घलेलाई हृदयघात भयो । थापाथलीस्थित नर्भिक अस्पतालमा सात दिनको उपचार पश्चात् उँहालाई दिल्लीमा रिफर गरियो र ३ महिना अस्पतालमा उपचार गरी नेपाल फर्कनु भयो ।

हृदयघातपछि पक्षघातले उँहालाई ओछ्यान मै ढालिरह्यो तर राष्ट्र भने यसबाट अनभिज्ञ नै रह्यो। यहाँ हाम्रो देशका राजनेताहरुलाई रुघा लाग्दा पनि बिदेशमा उपचार गराउँन हतारो हुन्छ तर आफ्नो देशलाई स्वर्ण पदक दिलाउने खेलाडीको अवस्था के कस्तो छ ? कसैको चासोको बिषय बन्न सक्दैन।

२०५१/५२ सालमा जीवन राम श्रेष्ठ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव हुँदा स्वर्ण पदक विजेता खेलाडिहरुलाई मासिक ६००० दिने निर्णय भयो । पछि विनोद शंकर पालिखे राष्ट्रिय खेलकुद परिषदमा प्रवेश भएपछि सो सुविधा पनि वदर गरिएको थियो । हाल वाइ. बि. घलेले राज्यबाट पाउने रु. ६००० कर कटौति गरी पाउनुहुन्छ । राज्यलाई गौरवान्वित गराउने स्वर्णपदक विजेताहरुको पनि कर काटिनु जरुरी छ र ?

हालसम्म उपचारको नाममा उँहाकै समकक्षी गणेश थापा एन्फाको प्रमुखमा रहनुहुँदा रु.१ लाख सहयोग दिएको उहाँ स्मरण गर्नुहुन्छ।

 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update