Kath khabar
नेपालको कृषि : डाले घाँस, बहुबर्षिय घाँस र एक बर्षिय घाँसमा हिउँदे र बर्षे घाँस

               काठमाडौं, असोज ५ । नेपालमा पशुपालन व्यावसायलाई बढी व्यावसायिक तथा प्रतिस्पर्धी व्यावसायको रुपमा बिकास गर्न उत्पादन लागत घटाउने कार्य प्रमुख चूनौतीको रुपमा रहेको देखिन्छ । खासगरी दुध, मासु, ऊन को उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालन अपरिहार्य आवश्यकता हो । यसको लागि उन्नत घांस खेती गर्ने कार्यलाई ब्यापकता दिन गुणस्तरीय बीउको आपूर्ति कार्यक्रम संचालन गर्नु पर्ने हुन्छ ।

जग्गा हुने किसानहरुले आ आफ्नो खेतबारी तथा खाली जग्गामा र बारीका कान्लामा पनि घाँस खेती गरी बर्षै भरीको लागि घाँस उत्पादन गर्न सक्दछन्। डाले घाँस, बहुबर्षिय घाँस र एक बर्षिय घाँसमा हिउँदे र बर्षे घाँस मिलाएर लगाउनु पर्दछ। यसो गर्न सकिएमा घाँसको खास अभाव रहदैन र जंगल बिनास पनि नियन्त्रण हुन्छ। सामुदायिक जंगलहरुमा समेत व्यवस्थित तरिकाले उन्नत जातका घाँसहरुको खेती गरी आवाश्यक घाँस उपलब्ध गराउन सकिन्छ।  

  •   डाले घाँसहरु : किम्बु, चुलेत्रो, ईपीलेपिल, दुधिलो, बडहर, टाँकी, कोइरालो, निमारो आदि।
  •  एक वर्षीय घाँसहरु  * हिउँदे घाँसहरु : जै, सानो केराउ, बर्सिम, भेच आदि। * बर्षे घाँस   : टियोसेन्टी, काउपी, बाज्रा, मकै, भटमासे, आदि। 
  •  बहुवर्षीय घाँसहरु : नेपियर, स्टाइलो, अमृसो, सेटारिया, मोलासेस, पास्पलम, क्लोभर, राईघाँस, कक्सफुट, सुडान, कुड्जु, डिस्मेडियम, आदि। 

एक बर्षे घाँस उत्पादन प्रबिधि : यस्तो प्रकारको घाँस बर्षै पिछे लगाईरहनु पर्दछ। नेपालमा लगाउन सकिने उपयुक्त घाँसहरुमा जै, सानो केराउ, बर्सिम, भेच, सर्गम, टियोसेन्टी, केराउ, बाज्रा, भट्मासे, बोडी पर्दछन। घाँस लगाउँदा कोसा लाग्ने र नलाग्ने घाँसहरु मिलाएर लगाएमा माटोको उर्बरा शक्ति कायम रहनुको साथै पशुलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाईड्रेटको अनुपात पनि मिल्न जान्छ। 

  •  हिउँदे घाँस उत्पादन  : उपयुक्त एक बर्षे हिउँदे घाँसमा जै, सानो केराउ, बर्सिम, भेच पर्दछन। यी भुइँ घाँसहरु लगाउँदा मिश्रित तरिकाले लगाउन सकिन्छ। मिश्रित खेती गर्दा  माथि उल्लेख गरे अनुसार माटोको उर्बरा शक्ति समेत बच्न जान्छ। हिउँदे घाँसको बिउलाई असोज देखि मंगसिर सम्म छरी हिउँदको समयमा प्रयोग गर्न सकिन्छ। 
  • बर्षे घाँस उत्पादन : एक बर्षे घाँसमा भटमास, मकै, मकैचरि, जोआर, बाजरा, बोडी, आदि पर्दछन। बर्षे घाँसका बिउलाई सामान्यतया बर्षा याममा घाँसको रुपमा प्रयोग गर्न सकिन्छ। 
  • बहुबर्षे घाँस उत्पादन प्रविधि : यस्तो प्रकारको घाँस एक पटक लगाए पछि बर्षौ सम्म घाँस उत्पादन गर्न सकिन्छ। यस्तो घाँस हैसियत बिग्रिएको सार्बजनिक चरन, सामुदायिक वन, खोलाको बगर, खेतबारीको डिल कान्ला आदिमा लगाउन सकिन्छ। पशुको लागि उपयुक्त बहुबर्षिय घाँसहारुमा नेपियर, स्टाइलो, अम्रिशो, राई, सेतो क्लोभर, जोइन्त भेच , पास्पालम, मोलासेस, सेटारिया, कक्स्फ़ुट, कुड्जु, ग्लाइसिन, सेन्ट्रोसिमा, सिराट्रो, डेस्मोडियम, ल्यावल्याब, आदि हुन्।

यसरी सामान्यतया बर्षे घाँसलाई फाल्गुन - चैत्रमा छरिन्छ। पहाडी र जमिन खेतीको लागि प्रयोग गर्ने ठाउँमा बहुबर्षे घाँस खेतीमा जोड दिनुपर्छ।            

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update