Kath khabar
नेपालको कृषि : मौरीपालन

                   काठमाडौं, असोज १४ ।  नेपालमा परापूर्व कालदेखि नै परम्परागत रुपमा मौरीपालन गरिंदै आएको र हालसम्म पनि स्थानीय एपिस सेराना जातको घरपालुवा मौरीलाई प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रूपमा परम्परागत मुढे घार एवं खोपे घारमा राखी मह उत्पादन गर्ने प्रचलन प्रायः सबै क्षेत्रहरूमा यथावत रहेको पाइन्छ । आधुनिक खेती प्रणालीमा विशेष गरी नेपाल जस्तो कृषिप्रधान देशमा बालीहरूमा परागसेचनको लागि मौरी एउटा प्रभावकारी परागसेचक किरा भएकोले मौरीपालनबाट कृषि क्षेत्रमा पनि अधिकतम लाभ लिन सकिन्छ । 

मौरीपालनका फाइदाहरू :

  • मह, मैन, कूट, शाहीखुराक, मौरी विष, चोप, मौरीगोला 
  • परागसेचन, स्वरोजगार, जैविक विविधता, प्राकृतिक सन्तुलन, उत्पादकत्वमा वृद्धि
  • थोरै लगानीबाट शुरुवात गर्न सकिन्छ जसलाई धेरै स्थानको पनि आवश्यकता पर्दैन
  • यस व्यवसायबाट पहिलो वर्षमा नै आयआर्जन गर्न सकिन्छ। हाल महलाई निर्यात योग्य महत्वपुर्ण कृषि बस्तुको रुपमा पहिचान गरिसकिएको हुंदा गुणस्तरीय मह उत्पादन गरी विदेशमा पनि बिक्रि गर्न सकिन्छ
  • हाल देशभित्रै पनि महको सेवन तथा माग बढिरहेको अवस्थामा मौरी पालन गरी आय आर्जन गर्न सकिन्छ ।

मौरीपालन व्यवसाय सुरु गर्नु अगाडि ध्यान दिनुपर्ने कुराहरू :
मौरीपालन उद्यमलाई सफल रूपमा सञ्चालन गर्नका लागि मौरीपालनका लागि माथि उल्लिखित विषयवस्तुका साथसाथै
तपसिलका विषयवस्तुमा पनि ध्यान दिनु जरुरी हुन्छ ।

मौरी जातको छनोट :

  • सेरेना मौरी-उच्च पहाड, मध्य पहाड र उपत्यका
  • मेलिफेरा मौरी-तराई , भित्री मधेश, मध्य पहाडी क्षेत्रको समथर भू-भाग र उपत्यका ।

चरनक्षेत्र छनौट :

  • स्रोतको पहिचान
  • फूल फुल्ने समयका बारेमा जानकारी
  • सुरक्षित स्रोतको जानकारी

 समयको छनोट : 

  • उपयुक्त समयको छनोट गर्दा क्षेत्र र चरनमा ख्याल राख्नुपर्दछ ।
  • पहाडी भेगमा फाल्गुन, चैत्र भित्र मौरीपालन सुरु गर्ने ।
  • तराई तथा भित्री मधेशमा असोज, कार्तिक र मङ्सिर महिना अति उत्तम, फाल्गुण र चैत्र उत्तम ।
  • वर्षायाम र पौषमा मौरीपालन सुरु गर्न उपयुक्त हुदैन ।

नेपालमा पाइने मौरीका जातहरू र तिनका विशेषता :

मौरी एक सामाजिक एवं लाभदायक किरा हो । नेपालमा धेरै किसिमका मौरीहरू पाइन्छन्। खासगरी मह सङ्कलन गर्ने हिसाबले
मौरीलाई ५ जातमा विभाजन गर्न सकिन्छ ।

१. कठ्यौरी मौरी (एपिस फ्लोरिया) :
यो मौरी आकारमा मह मौरीहरू मध्ये सबैभन्दा सानो हुन्छ र यसले आफ्नो चाका खुला तर घाम कम लाग्ने साना रूखका हाँगा र बुट्यानमा बनाइन्छ । चाको साना हत्केला जत्रो र एउटा मात्र हुन्छ । यिनीहरू स्थान र स्रोत उपयुक्त नभएमा पटकपटक स्थानान्तरण गरिरहन्छन्। यसले वार्षिक प्रतिगोला लगभग १ के.जी. मह उत्पादन दिन्छ र यसको मह औषधीको लागि अति नै
उपयोगी मानिन्छ ।

२. खागे मौरी (एपिस डोरसाटा) :
यसले खुला ठाउँ मन पराउने हुनाले ठूला घरका छतमुनि, अग्लो रूखको हाँगामा एउटै ठूलो चाका बनाई बस्छ । यिनीहरू गर्मी मौसममा भित्री मधेसका खोँचतिर र जाडो मौसममा तराईतिर स्थानान्तरण हुने गर्छन् । यस जातका मौरी बढी रिसाहा हुन्छन् र एउटा गोलाबाट वार्षिक ३० देखि ५० किलोसम्म मह उत्पादन हुने गर्छ । यो मौरी अन्नबाली तथा फलफूलमा परागसेचनको लागि अति उपयुक्त मानिन्छन ।

क्रमश :


 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update