Kath khabar
नेवारहरुको प्राचीन प्रेम कहानी

 

                काठमाडौं, असोज २२। मंसिर महिनामा मनाइने योमरी पुर्णिमाका दिन नेवार समुदायमा योमरी माग्न जाने चलन रहेको छ । यसरी योमरी माग्न जान्दा 'त्योछिं तियो, बछिसां तियो, थाबलेया सामा वल योमरी न्यग तियो, बिउ म्ह ल्यासे, मबिउ म्ह बुढीकुटि' भन्दै माग्न जाने प्रचलन रहेको छ ।

आफुलाई ल्यासे (तरुणी) भनाउन घरघरबाट योमरी माग्न आउनेहरुको लागि योमरी दिने गरिन्छ । त्यहाँ केटाकेटीको पहिलो देखादेख हुन्छ।  त्यसको भोलिपल्ट मतिना पारुको दिन भेट्ने खबर दिइन्छ। यसरी केटा र केटीको बीचमा मायाको अंकुरण शुरु हुन थाल्छ ।

यसरी सुरु भएको माया होलि पुर्णिमामा केटा होलि खेल्न उहीँ केटीको घरमा पुग्दछ । केटीलाई होलिको निहुँमा अबिर दलि दिँदा केटी रिसाएपछी 'अबिरया होलि तंचायाला ल्यासे अबिरं छंगु ख्वा बांलाक बि' भनेर केटाले गीत गाउँछ र केटीको मन झन खुशी हुन्छ ।

त्यसपछि आउने जात्राहरु बिस्का जात्रा, रातो मच्छिन्द्रनाथको जात्रा, इन्द्रजात्रामा दुबै केटाकेटीहरु आफ्नो परिवारका साथ जात्रा हेर्न जाने गर्दछ । बोल्नलाई संगै रहेका परिवारले थाहा पाउला भने डर हुन्छ तसर्थ दुबैको आँखी भाषा शुरु हुने गर्दछ । त्यस्तै असारमा धान रोप्न केटीको खेतमा बोलाज्या जाने गर्दछन् । यसै क्रममा केटाकेटीले जिस्की कुराकानी गर्ने मौका पाउँछन् । त्यसपछि तिनीहरुको भेट 'पेम्ह नारायण सिकेगु' (चार नारायण चिन्ने) मा हुने गर्दछ । चांगु, इचंगु, बिशंखु, शेष नारायण जानेक्रममा एकले अर्कोँसँग बोल्न थाल्छन् ।

त्यसपछिको भेट भनेको गुंला महिनामा हो । त्यस महिनामा चार भगवान (बुद्ध) थाहा पाउने भनी मेला भर्न निस्किन्छन् । नमो बुद्ध, स्वयम्भू, बुंगमती, बज्रयोगिनी जानेक्रममा एकले अर्कालाई बुझ्ने मौका मिल्छ । यसरी दोहोरो माया बसेपछि वा एकले अर्कालाई बुझेपछि निकटता बढेको कुरा गाइगुइ सुनिन थाल्छ ।

अब केटीका आमाबाबु केटीको विवाह गरिदिन हतारिन्छन् । केटाको खोजी हुन सुरु हुन्छ । केटीले नै मन पराएको केटा उचित छ भने सौहाद्र वातावरणमा विवाह सम्पन्न हुने भयो । यदि केटा चित्त बुझेन भने अर्को केटाको खोजी हुने गर्दछ । यसैबिच दशैंको नवरात शुरु हुन्छ । नवरातको त्यो नौ रात शक्तिपिठहरुमा लाग्ने मेला भर्नेक्रममा भागेर विवाह गर्न सम्पुर्ण चाँजोपाजो मिलाउने कुरा हुन्छ । बिजया दशमीको दिन 'पायो न्ह्याकेगु' भनेर केटी केटासँग भाग्ने गर्दछन् । यसदिन भागेको केटीलाई फर्काउने गरिदैन । तसर्थ दशमीको दिन कुनैपनि शुभकार्य गर्न कुनै साइत हेर्न आवश्यक पर्दैन ।

लेख : GR RANJIT

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update