Kath khabar
तिहारका लागि मखमली फूलको निर्यात, सयपत्री भने अझै आयात गर्नुपर्ने

                काठमाडौं, असोज २८।  तिहार नजिकिन थालेसँगै फूलको कारोबार सुरु हुन थालेको छ । विगतमा जस्तै यसपालि पनि मखमली फूल निर्यात र सयपत्री फूलको आयात हुँदैछ । यसपालि ६० लाख रुपैयाँ बराबरको मखमली फूल निर्यात हुने अनुमान छ । नेपालबाट हरेक वर्ष मखमली फूल अस्ट्रेलिया, अमेरिका, जापान लगायतका देशमा निर्यात हुँदै आएको छ ।

मखमली फूलको निर्यात गरे पनि सयपत्री फूलमा भने नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन । सयपत्री फूलमा आत्मनिर्भर बन्न भन्दै विभिन्न कार्यक्रम हुँदै आए पनि जनशक्तिको अभाव रहेकाले चुनौती रहेको फ्लोरिकल्चर एसोसिएशन नेपालका महासचिव विश्वमणि पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार यसपालि तिहारका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको ३ लाख सयपत्रीका माला भारतबाट आयात हुँदैछ । सयपत्री फूलको माग हरेक वर्ष बढ्दो छ । तर, धेरैजसो युवा शक्ति विदेशिने र गाउँघरमा रहेकाहरु पनि सहर पस्ने प्रवृत्ति बढेकाले फूलको उत्पादन मागअनुसार बढाउन सकिएको छैन ।

वार्षिक कारोबारको ५० प्रतिशत फूल तिहारमा खपत हुने गरेको छ । तिहारमा फूलको कारोबार बढी हुने भए पनि त्यहीअनुसार उत्पादन भने हुन सकेको छैन । समय अनुकूल मिलाएर फूलको व्यवसाय गर्न सके प्रशस्त कमाइ हुने फ्लोरिकल्चर एसोसिएशन नेपालका महासचिव पोखरेल बताउनुहुन्छ ।

केही वर्षयता फूल खेतीमा आकर्षण बढे पनि मल, बिउ नपाउँदा किसानलाई समस्या हुने गरेको छ । यसपालिको तिहारमा १० करोड रुपैयाँ बराबरका २० लाख सयपत्रीका माला खपत हुने अनुमान छ । यस्तै, २ करोड बराबरका मखमलीका सवा ३ लाख माला खपत हुने एसोसिएशनको अनुमान छ। 

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update