Kath khabar
भारतको सिक्किममा सत्यमोहन जोशीको स्मृतिमा पुस्तकालय बनाइने


                  काठमाडौं, कात्तिक २ । वाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरि भारतको सिक्किममा शोक सभा सम्पन्न गरेको छ ।

सिक्किम नेवाः गुठी तथा नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालयले संयुक्त रूपमा कार्यक्रम सम्पन्न गरेको हो । जोशीको गत २०२२ अक्टोबर १६ तारिखमा १०३ वर्षको उमेरमा नेपालको किष्ट अस्पतालमा निधन भएको हो ।

कार्यक्रममा सिक्किम नेवाः गुठीका पूर्व अध्यक्ष दिलु कुमार प्रधानले डा. जोशीसँगको भेटवार्ताको अनुभव र उहाँको जीवनी बारे चर्चा गरे । उहाँले सिक्किममा “सत्यमोहन जोशी स्मृति पुस्तकालय“ स्थापना गर्ने घोषणा समेत गर्नुभयो । त्यस्तै, कार्यक्रममा वरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठले शताब्दी पुरुष  डा. सत्य मोहन जोशीको जीवनी र कृति बारे चर्चा गरे । उहाँले जोशीका प्रकाशित कृतिहरू अध्ययन गर्नुपर्नेमा जोड दिए । त्यस्तै, विद्यालयका प्राचार्य विकास प्रधानले डा. जोशीबाट लिइएको ज्ञानको स्मरण गर्दै आफ्नो मातृभाषा र संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकास गर्ने प्रेरणा पाएको बताए ।

कार्यक्रमको सुरुमा जोशीको आत्मशान्तिको लागि कामना गरि मौन धारण गरिएको थियो । सो पश्चात् फोटोमा माला अर्पण गरेर श्रद्धाञ्जली चढाइएको थियो । कार्यक्रममा सिक्किम नेवाः गुठीका पूर्व अध्यक्ष एवं नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालय सिक्किमका अध्यक्ष भाजु दिलु कुमार प्रधान, वरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठ, विद्यालयका प्राचार्य विकास प्रधान, विनित प्रधान तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update