Kath khabar
नेपालको कृषि : चिया खेती

                 काठमाडौं, कात्तिक ३। चियाको बानस्पतिक पहिचान : चिया उष्ण र उपोष्ण हावापानीमा खेती गरिने एक बहुवर्षे सदाबहार बोट हो । चियाको बोटलाई पहिले Thea sinensis को नामबाट नामाकरण गरिएकोमा हिजोआज यसलाई Camellia sinensis को नामबाट चिनिन्छ । चियाको फूल सेतो-पहेंलो रङ्गको हुन्छ तथा यसको पात लाम्चो र दाँतेदार खालको हुन्छ । चियाको फूल २.५ देखि ३.५ से.मी. आकारको हुन्छ जसमा ६ देखि ८ वटा पुष्पदलहरु हुन्छन् । कलिला पातहरुको तल्लो सतहमा छोटो सेतो रौंहरु हुन्छ । कलिला हाँगाहरु खैरो पहेलो रङ्गको र चिल्लो हुन्छ । यस वर्षको हाँगाको रङ्ग बैजनी रातो हुन्छ । पातको आकार अण्डाकार वा लाम्चो अण्डाकारको हुन्छ । यसैगरी चियाको बीउ खैरो रङ्गको तथ गोलाकार खालको र १-१.४ से.मी. साइजको हुन्छ । चियाको फूल कार्तिक देखि माघ महिना भित्र फूल्दछ भने भदौ असोज महिनामा फल लाग्दछ । चिया Theaceae परिवारभित्र पर्दछ । यस परिवार अन्तरगत झण्डै ६०० वटा स्पेशिजहरु पर्दछन् । Camellia sinensis भित्र चियाका निम्नलिखित ३ वटा जातहरुको खेती गर्ने गरिएको छ ।

(क) Camellia sinensis var. sinensis चिनिया जात
(ख) Camellia sinensis var. assamica आसामी जात
(ग) Camellia sinensis var. lasiocalyx कम्बोडियन जात

नेपालमा भने उल्लेखित ३ वटा जातहरु मध्ये अघिल्लो २ जातको मात्र ब्यवसायिक रुपमा खेती गर्ने गरिएको छ । चिनिया जातको चियाको पात सानो हुन्छ भने आसामी जातको पात ठूलो हुन्छ । ग्रीन टी को उत्पादन अक्सर गरेर चिनिया जातबाट गरिन्छ किनभने यसको स्वाद आसामी जातहरुको भन्दा स्वादिलो हुन्छ । आसामी जातका चियाबाट प्रायजसो ब्ल्याक टी को उत्पादन गर्ने गरिन्छ । आसामी ठूला पाते चियाको जातहरुको बृद्धि छिटो हुनुका साथै बोटको आकार पनि ठूलो हुन्छ र यी जातहरुको गर्मी हावापानी भएको ठाउँको लागि उपयुक्त हुन्छ भने चिनिया साना पाते जातहरुको बृद्धि अपेक्षाकृत ढिलो र बोटको आकार पनि सानो हुन्छ र यी जातहरु चिसो हावापानी भएको ठाउँको लागि उपयुक्त हुन्छन् । हाल नेपालमा यिनै चिनिया र आसामी जातहरुबाट विकास गरिएका विभिन्न क्लोनहरु चलन चल्तीमा छन् । यी क्लोनहरु सबै विदेशमा विकास गरिएका हुन् र नेपालमा हालसम्म कुनै क्लोनको विकास हुन सकेको छैन ।

क्रमश :
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update