Kath khabar
वैदेशिक रोजगारीमा पछिल्लो ३ वर्षमा ३,१९९ नेपाली श्रमिकले ज्यान गुमाए, मधेश प्रदेशका धेरै

 

                       काठमाडौं, पुस ४ ।  वैदेशिक रोजगारीका क्रममा पछिल्लो ३ वर्षमा ३ हजार १९९ नेपाली श्रमिकले गन्तव्य देशमै ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारीको लागि विश्वका विभिन्न देशमा पुगेका नेपाली श्रमिकहरुले ज्यान गुमाउने क्रम बढीरहेको एक तथ्यांकले देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हिजो सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन - २०२२’ का अनुसार आर्थिक वर्ष २०१९/०२० मा ६५८ श्रमिकले ज्यान गुमाएकोमा आर्थिक वर्ष २०२०/०२१ मा १ हजार ११८ जनाले ज्यान गुमाएका छन् । यस्तै यो संख्या बढेर आर्थिक वर्ष २०२१/०२२ मा १ हजार ३९५ पुगेको छ ।

यसरी वैदेशिक रोजगारीका क्रममा ज्यान गुमााउने नेपाली श्रमिकमध्ये सबैभन्दा धेरै मधेश प्रदेशको रहेको पनि तथ्यांकले देखाएको छ । गएको ३ वर्षमा मधेशका ७ सय ५१ श्रमिकले गन्तव्य देशमै आफ्नो ज्यान गुमाएका छन् । यस्तै दोस्रो धेरैमा प्रदेश १ रहेको छ । ३ वर्षमा प्रदेश १ का ७ सय ९ जना श्रमिकले ज्यान गुमाए । यस्तै त्यही अवधिमा लुम्बिनी प्रदेशका ६ सय ६८ र गण्डकी प्रदेशका ४ सय ७८ श्रमिकले विदेशमा ज्यान गुमाएका छन् ।

यस्तै वाग्मती प्रदेशका ४ सय ९, कर्णाली प्रदेशका १ सय १० र सुदूरपश्चिम प्रदेशका ६५ श्रमिकले गन्तव्य देशमै ज्यान गुमाएको प्रतिवेदनले देखाएको छ ।

वैदेशिक रोजगारीमा धेरै जाने प्रदेशमा पनि मधेश पहिलो नम्बरमा पर्छ । गएको ३ वर्षमा जम्मा वैदेशिक रोजगारीमा गएकामध्ये मधेशबाट मात्रै २८.६८ प्रतिशत रहेका छन् । यस्तै प्रदेश १ बाट २०.२४ र लुम्बिनी प्रदेशबाट १६.८२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 

वाग्मती प्रदेशबाट वैदेशिक रोजगारीमा जानेमा १५.४८ प्रतिशत, गण्डकी प्रदेशबाट १२.१९ प्रतिशत रहेका छन् । यस्तै कर्णाली प्रदेशबाट ३.८५ र सुदुरपश्चिमबाट २.७३ प्रतिशत रहेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update