Kath khabar
स्कुलले कब्जा गरेको जग्गा फिर्ता ल्याएर ब्युँताइँदै सप्तपाताल पोखरी


                                   ललितपुर, पुस १३ ।  ललितपुरको लगनखेलस्थित बटुक भैरव मन्दिरअगाडिको ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माण गर्न थालिएको छ । स्कुलले कब्जा गरेको जग्गा खोसेर ल्याएपछि ललितपुर महानगरपालिकाले पुनर्निर्माण थालेको हो । 

लगनखेलको नमुना मच्छिन्द्रनाथ स्कुलले पोखरीको ११२ नम्बर कित्ताको जग्गा लामो समयदेखि अतिक्रमण गरी प्रयोग गर्दै आइरहेको थियो । तर, ३ असार ०७६ मा सर्वोच्च अदालतले पोखरीको पक्षमा फैसला गरेपछि महानगरलाई फिर्ता ल्याउन सहज भएको थियो । लगनखेलका स्थानीयवासी तथा सप्तपाताल बचाउ अभियन्ता पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न ०६१ मा सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए । 

WhatsApp Image 2022-12-28 at 13.04.461672212843.jpeg

 

अदालतले सप्तपाताल पोखरीको नाममा उक्त जग्गा कायम गरेपछि महानगरले संरक्षण थालेको हो । सर्वोच्चको फैसलासँगै ढुंगेधारा तथा पोखरीविज्ञ पद्मसुन्दर जोशी, अकासेपानीविद् प्रकाश अमात्य, पानीविद् सुरेन्द्र श्रेष्ठ, पुष्पमान अमात्य लगायतले डिपिआर तयार पारेका थिए । एक महिनायता पोखरीलाई पुनर्जीवन दिन पुनर्निर्माण सुरु भएको छ ।

मेयर चिरिबाबु महर्जनले पोखरी संरक्षण गर्न महानगरको तर्फबाट प्रमाण उपलब्ध गराएका थिए । स्कुलको नाममा गइसकेको सार्वजनिक पोखरीको जग्गा फिर्ता भएसँगै पोखरीको क्षेत्रलाई घेराबार लगाई पुनर्निर्माण थालिएको हो । 

०७४ सालमा ललितपुर महानगरमा निर्वाचित भएका मेयर चिरिबाबु महर्जनले पोखरीलाई जसरी पनि जीवित राख्ने घोषणापत्रमा समेटेका थिए । मुद्दा लड्दा र डिपिआर तयार गर्दा अघिल्लो कार्यकालमा सो पोखरी पुनर्निर्माण गर्न नपाएका महर्जनले गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा पुनः चुनाव जितेपछि पुनर्निर्माणलाई प्राथमिकतामा राखे । उनले पहिलो काम नै सप्तपातालमा कमलको फूल फुलाउने रहेको बताएका थिए । ‘मैले अघिल्लो कार्यकालमै यो पोखरी पुनर्निर्माण गर्न खोजेको हुँ, तर मुद्दा लड्दा र डिपिआर तयार पार्दा भ्याइएन, अब यो कार्यकालको पहिलो ठूलो कामको रूपमा सप्तपातालको काम सुरु भएको छ,’ उनले भने, ‘यसलाई मौलिक रूपमै पुनर्निर्माण गरी पानी भर्छौँ ।’

WhatsApp Image 2022-12-28 at 13.05.15 (1)1672212919.jpeg

यो पोखरीलाई माछा छाडिने पोखरीका रूपमा पनि लिइन्छ । पोखरीको जग्गा फिर्ता भएसँगै १ असार ०६६ मा सप्तपाताल पुनर्निर्माण उपभोक्ता समिति गठन गरी सुरु गरिएको भए पनि काम अघि बढेन । लगनखेलमा रहेको नमुना मच्छिन्द्र स्कुलले पोखरी बनाउन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो । पोखरीको मुद्दा सर्वोच्चमा पुगेपछि लामो समय काम रोकिएको थियो । तर, सर्वोच्चले पोखरीको पक्षमा फैसला गरे पनि डिपिआर तथा योजनाको काम सुरु भएको थियो ।

सांस्कृतिक हिसाबले सप्तपाताल निकै महत्वपूर्ण :

सप्तापाताल पोखरी ललितपुरकै फराकिलो र गहिरो मानिन्छ । तर, सहरीकरण र संरचना बढ्न थालेसँगै ०३४-३५ देखि सप्तपातालको जग्गा अतिक्रमणको चपेटामा पर्न थालेको थियो । जानकारहरूका अनुसार यो पोखरी लगनखेल बसपार्कस्थित अशोक स्तुपासँगै १४ रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको थियो । तर, चारैतिरबाट पोखरी मिचिएपछि हाल करिब ४ रोपनी मात्रै बचेको छ । राजकुलो मासिएपछि पोखरी सुक्दै गएको थियो । पोखरी सुकेपछि पोखरीको जग्गा स्कुल तथा अन्य व्यक्तिले कब्जा गरेका थिए ।

WhatsApp Image 2022-12-28 at 13.04.451672212730.jpeg

तर, प्रमाण नभएकाले सबै जग्गा फिर्ता ल्याउन नसकिएको महानगरले जनाएको छ । यो पोखरीमा ललितपुरको चापागाउँ, टीकाभैरव हुँदै राजकुलो मार्फत पानी ल्याइन्थ्यो । सातदोबाटोस्थित रिङरोड बनेपछि भने राजकुलो मासिएको थियो । त्यससँगै ललितपुर क्षेत्रका ढुंगेधारा र पोखरी सुकेको छ । यो पोखरीमा राख्ने पानीको अन्य स्रोत नभएकाले ट्यांकर तथा भैँसेपाटी र गोदावरी क्षेत्रबाट पाइपद्वारा पानी ल्याएर पुनर्निर्माण पछि पानी भरिने योजना छ ।

 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update