Kath khabar
वैदेशिक रोजगारीका लागि दुबई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक जान नपाउने

 

                              काठमाडौं, फागुन १० । वैदेशिक रोजगारीका लागि दुबई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक जान नपाउने भएका छन् ।  वैदेशिक रोजगार विभागले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।

युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो। पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको अवस्था रहेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेसँगै विभागले उक्त निर्णय लिएको हो ।

युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ ।

उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update