Kath khabar
काठमाडौं उपत्यकामा जग्गाको कित्ताकाट खुल्यो

 

 

              काठमाडौं, फागुन ११ ।  लामो समयदेखि बन्द रहेको जग्गाको कित्ता काट काठमाडौं उपत्यकाका ३ जिल्लामै खुलेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा जग्गा वर्गीकरणको काम सकिएको छ । वर्गीकरणको काम सकिएपछि कित्ताकाट खुलेको हो । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले उपत्यकामा जग्गा वर्गीकरण सकिएको देखाएको छ ।

स्थानीय तहले कृषि र गैर कृषि छुट्याएका छन् । अन्य विधामा भने छुट्याउन बाँकी छ । २०७९ जेठ २३ गतेदेखि भू-उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन-नियममा निर्देशित भएको छ । कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन् ।

विभागको तथ्यांकअनुसार काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटै पालिकाले वर्गीकरण सकिसकेका छन् । भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी ४ वटा पालिका छन् ।

ललितपुरमा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update