Kath Khabar
ताप्लेजुङमा लम्पी स्किन संक्रमणले २ सयभन्दा बढी चौपाया मरे


                 ताप्लेजुङ, साउन १४ ।  लम्पी स्किन संक्रमणले ताप्लेजुङमा हालसम्म २ सयभन्दा बढी पशुचौपाया मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाँचथरका अनुसार लम्पी स्किन रोग संक्रमणका कारण हालसम्म ताप्लेजुङमा २०७ चौपाया मरेको तथ्यांक छ ।

लम्पी स्किन रोग फैलन थालेपछि सबैभन्दा धेरै गाईगोरु संक्रमित भएको केन्द्रका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए । बर्खाका वेला गोरु मर्नुका सथै बिरामी भएपछि धान रोपाइँ गर्न समेत समस्या भएको किसानहरूको भनाइ छ । महतोका अनुसार लम्पी स्किन संक्रमणबाट ताप्लेजुङमा २०६ वटा गाईगोरु तथा एउटा भैँसी मरेको छ । ताप्लेजुङका स्थानीय तहमध्ये मिक्वाखोला गाउँपालिकामा लम्पी स्किन संक्रमणबाट १०२ चौपाया मरेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जानकारी दिएको छ । 

तथ्यांक अनुसार मैवाखोला गाउँपालिकामा ३३, फुङलिङ नगरपालिकामा २२, पाथीभरा याङ्वरक गाउँपालिकामा १२, मेरिङ्देनमा ३, सिरिजंघामा २० पशुचौपाया मरेका छन् । यस्तै, आठराई त्रिवेणी गाउँपालिकामा १० र सिदिङ्वा गाउँमा १ भैँसी समेत ५ वटा चौपाया मरेका छन् । फक्ताङ्लुङ गाउँपालिकामा भने लम्पी स्किन रोग संक्रमण देखिए पनि हालसम्म कुनै क्षति भएको छैन ।

केन्द्रका अनुसार ताप्लेजुङ र पाँचथर गरी २ जिल्लामा अहिलेसम्म २८ हजार ६२५ पशुचौपायालाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइसकिएको छ । खोप लगाउने क्रम जारी रहेको केन्द्रले जनाएको छ । फुङलिङ नगरपालिका, सिरिजंघा गाउँपालिका लगायत स्थानीय तहमा हाल पशुचौपायामा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने कार्य चलिरहेको बताइएको छ ।

मैवाखोला, सिदिङ्वा, मिक्वाखोला गाउँपालिका लगायत स्थानीय तहले केही दिन पहिले नै एक चरणको खोप अभियान सञ्चालन गरिसकेका छन् । आवश्यकताअनुसार लम्पी स्किन रोग विरुद्धको खोप अभियानलाई जारी राखिएको ती स्थानीय तहले जनाएका छन् । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update