
रामेछाप, साउन २३ । 'लम्पी स्किन' सङ्क्रमणका कारण दोरम्बा शैलुङ्ग गाउँपालिका-१ डडुवामा चौरी मर्न थालेपछि किसानहरू मारमा परेका छन् ।
रामेछापमा २ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको तल्लो तटीय क्षेत्रमा फैलिएको लम्पी स्किन रोग अहिले उच्च हिमाली क्षेत्रमा समेत फैलिएको छ । लम्पी स्किनबाट शैलुङ्ग क्षेत्रका ४२ वटा चौरी मरेका छन् । डडुवाको गौश्वाराको जङ्गलमा रहेका धेरैजसो चौरी गोठमा अहिले यो रोग देखा परेको छ ।
लम्पी स्किनका कारण चौरी मर्न थालेपछि आफूहरूले गाउँपालिकासँग औषधी र प्राविधिक कर्मचारीको माग गर्दा औषधी नभएको भन्दै गाउँपालिका पन्छिँदै आएको किसानहरूले गुनासो गरेका छन् । अहिले डडुवाको शैलुङ्ग क्षेत्रमा १५ वटा गोठमा ५ सयभन्दा बढी चौरी रहेका छन् ।
दोरम्बा शैलुङ्गका पशु स्वास्थ्य प्राविधिक राजेन्द्र ढुंगेलले गाउँपालिकाले गएको आर्थिक वर्षमा १ हजार डोज खोप किनेर पशुहरूमा लगाइएको भए पनि अहिले पालिकामा औषधी नहुँदा समस्या रहेको बताउनुभयो ।
रामेछापका ८ वटा पालिकामा लम्पी स्किनबाट २४ हजार पशु बिरामी परेका छन् । पशु सङ्क्रमित हुने सङ्ख्या बढ्दै जाँदा जिल्लामा औषधीको समस्या रहेको पशु प्राविधिकले बताउँदै आएका छन् ।