Kath khabar
ललितपुरस्थित सडक विभागको कार्यालयमा निर्माण व्यवसायीहरुको धर्ना

               काठमाडौं, साउन २९ । नेपाल निर्माण व्यवसायी महासंघको आइतबारदेखि शुरु भएको तेस्रो चरणको आन्दोलन आज सोमबार पनि जारी रहेको छ ।

आन्दोलन गरेको १६ दिनसम्म पनि सरकारले निर्माण व्यवसायीहरुका आवाज नसुनेको भन्दै अझै सशक्त आन्दोलन गर्ने चेतावनी व्यवसायीहरुले दिएका छन् । धर्ना कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सडक विभागमा तालाबन्दी गर्ने आफ्नो अधिकारलाई सरकारले नदिएको बताउँदै सरकारले सडक विभागसम्म जान नदिए सडक जाम गर्ने चेतावनी दिए ।

आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले हिजो ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिंचाई विभागमा नाराबाजी सहित धर्ना दिएर ताला लगाएको थियो ।  

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले आइतबार सडक विभागमा ताला लगाएको थियो भने वरिष्ठ उपाध्यक्ष ई. आङ दोर्जीलामा (ए.डी.) नेतृत्वको टोलीले सिंचाई विभागमा ताला लगाएको थियो । सिंचाई विभागमा ताला लगाउने क्रममा प्रहरीले हस्तक्षेप तथा धरपकड गरी वरिष्ठ उपाध्यक्ष ई. आङ दोर्जी लामा (ए.डी.) सहित ४६ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकालाई केही घण्टा जाउलाखेलस्थित ललितपुर प्रहरी परिसरमा राखिएको थियो ।

सडक विभागको भित्री कक्षमा ताला लगाएका व्यवसायीहरूले मूल गेट अगाडि तीन घण्टा धर्ना सहित नाराबाजी गर्दै व्यवसायीहरूको माग पूरा गर्न सरकारसँग माग गरेका थिए । आइतवारको विरोध कार्यक्रमलाई महासंघले सोमवार पनि निरन्तरता दिएका छन् ।

व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका १० बुँदे माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत व्यवसायीहरूले साउन १४ यता सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद्, माइतीघर मण्डला र सिंहदरवार अगाडि शान्तिपूर्ण धर्ना दिइसकेका छन् । यसैबीच महासंघको जारी आन्दोलनप्रति भारतीय निर्माण व्यवसायीहरूको साझा संस्था बिल्डर्स एसोसिएसन अफ इन्डियाले पूर्ण ऐक्यवद्धता जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update