Kathkhabar
सुगर मिलको केमिकल युक्त प्रदूषित पानी नालामा मिसिए पछि २ सय बिघाको धानबाली नष्ट


             कञ्चनपुर, भदौ ५ ।  कञ्चनपुरको एक चिनी उत्पादन गर्ने उद्योगको लापरबाहीका कारण सयौँ बिघा जमिनमा रहेको धानखेती नष्ट भएको छ। 

पुनर्वास नगरपालिका-२ दशरथ बस्तीमा रहेको भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालिको लापरबाहीका कारण झन्डै २ सय बिघा जमिनको धानखेती नष्ट भएको हो।  

उद्योगको लापरबाहीले पुनर्वास नगरपालिका २, ५, ६ र ७ क्षेत्रका स्थानीय किसानको सिमरीखोला वारिपारिको खेतको धानखेती नष्ट भएपछि स्थानीय किसान मर्कामा परेका छन्। सबैभन्दा बढी ५ नम्बर वडामा क्षति गरेको स्थानीयले बताए। 
 
स्थानीय किसानले उद्योगको लापरबाहीले गत असारमा लगाएर असोजमा फल्ने धानको जरै देखि सखाप भएको बताएका छन्। दैनिक जीवन चलाउने धान खेतीमै आश्रित किसान साउनमै नष्ट भएपछि बिचल्ली भएको छ। 

चिनी मिलले केमिकल युक्त फोहोरो पानी सिमरी नालामा बगाइदिए पछि धानखेती पूर्ण नष्ट भएको किसानले बताएका छन्। पुनर्वास नगरपालिका-५ सिमरीका स्थानीय किसान राजु चौधरीले चिनी मिलले केमिकल युक्त फोहोर पानी नालामा बगाइदिए पछि धानखेती नष्ट भएको बताए।

‘चिनी मिलले आफ्नो उद्योगबाट निस्किने फोहोर पानी नालामा बगाइदिन्छ,’ उनले भने, ‘धानखेतीका साथै मानिसलाई छाला सम्बन्धी रोग लागिरहेको छ।’

अर्का स्थानीय रामेश्वर रानाले उद्योगको चरम लापरबाहीले धानखेती सहित अन्य अन्नबाली समेत सखाप भइरहेको बताए। ‘हरेक वर्ष चिनी मिलले उद्योगबाट निस्किएको फोहोर पानी उत्तिकै छाडिदिन्छ,’ उनले भने, ‘यसले अन्नबाली देखि खेतकै उर्वराशक्तिमा ह्रास ल्याइरहेको छ।’

अर्की स्थानीय सावित्री चौधरीले उद्योगले फोहोर पानी वेलावेलामा बगाउँदा धानखेती नष्ट भएको बताइन्। उनले भनिन्, ‘यसबारे पटक पटक स्थानीय सरकारलाई जानकारी गराउँदा पनि हाम्रो समस्याको कुनै सुनुवाइ भएन।’

पुनर्वास नगरपालिका-७ का वडाध्यक्ष मुलचन्द्र रानाले उद्योगकै लापरबाहीले किसान मारमा परेको बताए। ‘पटक पटक गैरकानुनी रूपमा उद्योगको फोहोर पानी नालामा नबगाउन हामीले आग्रह गर्छौँ, मान्दै मान्दैन,’ वडाध्यक्ष रानाले भने, ‘अब पालिकाले कानुनी रूपमै एक्सनमा जानुपर्छ।’

कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले झन्डै ५०-६० किसानको २ सय बिघा हाराहारीको जमिनको धानखेती नष्ट भएको बताए।
 
‘हामीले गत २१ साउनमा प्राविधिक टोली सहित अध्ययन पनि गरेका छौँ,’ उनले भने, ‘त्यहाँबाट धान र माटोको नमुना ल्याए, के कारणले धानखेती नष्ट भएकोबारे परीक्षणका लागि ल्याबमा पठाएका छौँ।’

हरेक वर्ष दोदामा आउने बाढीले समेत धानबालीमा ठूलो क्षति गर्दै आएको छ। यस वर्ष पनि दोदामा बाढी आएको र त्यहीसँगै उद्योगले नालामा फोहोर पानी बगाएकै कारण धान खेती नष्ट भएको किसानको जनगुनासोअनुरूप कृषि कार्यालयबाट स्थलगत अनुगमन गर्दै कारण पत्ता लगाउने काममा जुटेको बताए। 

भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले केमिकल युक्त फोहोरपानी नालामा नबगाएको जनाएको छ। भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालिका मेकानिकल इन्जिनियर पदाराज पाण्डेले उद्योगले केमिकल युक्त फोहोर पानी नबगाएको बताए।

‘हाम्रो उद्योगबाट निस्किएको फोहोर पानी यतै व्यवस्थापन हुन्छ,’ उनले भने, ‘सिमरी खोलामा पुल निर्माण कार्यले लामो समय पानी थुनिएकाले गन्ध आएको र धानखेती नष्ट भएको होला, अहिले मिल बन्द छ, फोहोर पानी आउने कुरै भएन।’ उद्योग सञ्चालनका वेला फोहोर पानी सानै खोलामा जाने उनले स्वीकार गरेका छन्।

यसरी फोहोर पानी तथा वस्तु पनि वातावरणीय हिसाबले नदीखोला, नालामा बगाउनु वातावरण संरक्षण ऐन विरुद्धको कार्य हुन जान्छ। 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update