Kathkhabar
१ वर्षमा ६० हजार मेट्रिकटन आलु उत्पादन भयो बागलुङमा

 

               बागलुङ, भदौ १३ ।  बागलुङमा १ वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार १ वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ ।

केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिक रुपमा आलु खेतीमा छन् ।

गत आर्थिक वर्षमा आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धिमा सहयोग गरेको ज्ञान केन्द्रले चालु वर्षमा ३ करोड ६० लाख बजेट बिनियोजन गरेको छ । ज्ञान केन्द्रको लागि बिनियोजित कुल बजेटको झन्डै आधा बजेट आलु प्रवर्द्धनका लागि छ । चालु आर्थिक वर्षमा ज्ञान केन्द्रको लागि ८ करोड ६ लाख ४८ हजार विनियोजन गरेको छ ।

यहाँ कृषि ज्ञान केन्द्र बाहेक स्थानीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आलुखेती सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन् । आलु प्रबद्र्धन कार्यक्रम अन्तर्गत किसानलाई आलुको बीऊ, कृषि औंजार देखि बजारीकरणमा सहयोग पुर्‍याइने कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले बताए ।

“कृषकलाई आलुको बिऊ उपलब्ध गराउँछौँ, सिँचाइका सामग्री र उपकरण पनि सहयोग गर्छौँ”, पुनले भने, “उत्पादित आलुको बजारीकरणमा पनि सहयोग पुर्‍याउँछौँ ।” गत वर्ष बागलुङमा ३ हजार ६ सय ५५ हेक्टर जमिनमा आलु खेती गरिएको थियो । किसानले उत्पादित आलु मध्ये ३० प्रतिशत खानका लागि र ७० प्रतिशत आलु बिक्री गरिरहेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update