
हिले, भदौ १७ । धनकुटा जिल्लाबाट बितेको आर्थिक वर्षमा २ अर्ब ९३ करोड ३६ लाख ८४ हजार रुपैयाँको तरकारी तथा फलफूल जिल्लाबाहिर निकासी भएको छ ।
धनकुटाबाट गत आर्थिक वर्षमा गोलभेँडा, बन्दा, काउली, अदुवा, अकबरे खुर्सानी र भेडे खुर्सानी निकासी भएको थियो । यस्तै, सुन्तला, किवी, अलैँची, एभोकाडो, काँक्रा र आँप लगायतका फलफूल र नगदे बाली जिल्ला बाहिर निकासी भएको छ ।
बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटाबाट सबैभन्दा बढी १ अर्ब २८ करोड रुपैयाँ बराबरको ३२ हजार मेट्रिकटन गोलभेँडा निकासी भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यस्तै, बन्दा ६१ करोड ७० लाख बराबर, काउली ४३ करोड ९२ लाख, अदुवा १७ करोड ७५ लाख, अकबरे खुर्सानी ११ करोड ७६ लाख र भेडे खुर्सानी १ करोड १४ लाख २४ हजार बराबरको निकासी भएको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिए ।
नगदे तथा फलफूल बाली तर्फ १६ करोड ८९ लाखको सुन्तला, ३ करोड ८० लाखको किवी, ३ करोड ६० लाखको अलैँची, २ करोड ३३ लाखको एभोकाडो, १ करोड ९० लाखको काँक्रा र ५७ लाख ६० हजार बराबरको आँप निकासी भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुरज खनालले जानकारी दिए ।
बजारको समस्या नभएको र कृषकलाई आधुनिक उपकरणको सहयोग स्थानीय तह र कृषि ज्ञान केन्द्रले गरेका कारण कृषकलाई सहज भएको किसानले बताएका छन् । जिल्लामा उत्पादित तरकारी सुनसरी, मोरङ, झापाका विभिन्न बजार हुँदै भारतसम्म निकासी हुने गरेको छ ।