Kath khabar
भदौमै पाक्यो म्याग्दीको भर्जुलामा सुन्तला

 

             म्याग्दी, भदौ २७ ।  पश्चिम म्याग्दीको मंगला गाउँपालिका-१, कुहुँस्थित भर्जुला गाउँमा यस वर्ष भदौ महिनामै सुन्तला पाकेको छ । भर्जुलाका स्थानीय बमबहादुर शेरपुञ्जाले आफ्नो बारीमा लगाएको जापानीज प्रजातिको ‘मेगावासे’ सुन्तला पाकेको हो ।

शेरपुञ्जाको बारीमा लटरम्मै फलेका सुन्तला पहेँलपुर भएर पाकेपछि अहिले बिक्रीको तयारी शुरु भएको छ । सुन्तला उत्पादनका लागि भर्जुला उपयुक्त हावापानी भएको क्षेत्रको रुपमा चिनिन्छ । कृषक शेरपुञ्जाले बारीमा लगाएका २५ बोटमा फलेको सुन्तला पाकेपछि बिक्री गर्ने तयारी थालेको जानकारी दिनुभयो ।

बेमौसममा फलेका कारण सुन्तला बिक्रीका लागि बजारको अभाव नभएको बताउँदै कृषक शेरपुञ्जाले परीक्षणको रुपमा लगाएको सुन्तलाले व्यावसायिक उत्पादन दिएको बताउनुभयो । उहाँले प्रतिकेजी २५० रुपैयाँसम्म बिक्री हुने मेगावासे जातका सुन्तलाको दाना ठूला र निकै स्वादिलो हुने भएकाले गाउँमा पहिलोपटक उत्पादन भएको सुन्तला घरायसी प्रयोजन र आफन्तलाई कोसेली समेत दिने गरेको बताउनुभयो ।

कृषक शेरपुञ्जाले झण्डै २ रोपनी क्षेत्रफलको जग्गामा सुन्तला खेती गर्नुभएको छ । साउन महिनाको अन्तिम हप्ता देखि नै पाक्न शुरू हुने भएकाले आगामी वर्ष नर्सरी बनाएर थप सुन्तलाको बिरुवा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

मौसमी र बेमौसमी सुन्तला उत्पादनको पकेट क्षेत्र बनाउने योजना रहेको बताउँदै कृषक शेरपुञ्जाले असोजमा पाक्ने धनकुटाको स्थानीय जातको खोकु र जापानीज मेगावासे प्रजातिको सुन्तलाले समेत उत्पादन दिएको बताउनुभयो ।

कलमी गरेर थप सुन्तलाको बिरुवा गाउँभरी विस्तार गर्ने कृषक शेरपुञ्जाको योजना छ । भर्जुला कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहनु भएका शेरपुञ्जाको फार्ममा ड्रागन फुड, एभोकाडो, अङ्गुर, जापानीज जुनार लगायतका फलफूलहरुको समेत उत्पादन हुन्छ । भर्जुला गाउँको अगुवा कृषक शेरपुञ्जाले गाउँमा बेमौसमी तथा आधुनिक प्रजातिका फलफूलहरु भित्र्याउनु भएको छ ।

स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका शेरपुञ्जाले आधुनिक कृषि पेशा अपनाएको स्थानीय बालोदय आधारभूत विद्यालयका शिक्षक मनकुमार जुग्जालीले बताउनुभयो । वडा भित्र व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेका कृषकलाई प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गर्ने वडा कार्यालयले जनाएको छ । गाउँपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्र म्याग्दीबाट बेमौसमी सुन्तला खेतीको सम्भावनाको बारेमा थप जानकारी लिएर कृषकहरुलाई सघाउने वडाध्यक्ष एकजित रोकाले बताउनुभयो ।

कुहुँको भर्जुला सहित उपयुक्त हावापानी हुने क्षेत्रमा सुन्तला खेती विस्तारका लागि बगैँचा व्यवस्थापन, रोग तथा किरा नियन्त्रण, निःशुल्क बिरुवा वितरण लगायतका प्राविधिक सहयोग गरिनेछ । म्याग्दीमा पछिल्लो पटक सुन्तला खेती फस्टाउन थालेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update