Kath khabar
जर्मनी पठाउँदै बेसारको चाना रुकुम त्रिवेणीका श्रम सहकारी

 

                रुकुम, भदौ २७ ।  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार जर्मनी पठाउने तयारी गरेको छ । 

पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले जिल्लामा उत्पादित बेसार विदेश पठाउने योजना बनाएको हो । ‘हामीले उत्पादन गरेको बेसारको चाना परीक्षणका लागि जर्मनी पठाएको थियौँ । गुणस्तर राम्रो भएको भन्ने रिपोर्ट आएको छ । अब बेसारको चाना प्रशोधनको तयारीमा छौँ । यो मङ्सिर देखि बेसार जर्मनी पठाउन शुरु गर्दैछौँ’, सहकारीका अध्यक्ष शेरबहादुर मल्लले भन्नुभयो । 

‘सहकारीका सदस्यलाई बेसार खेती गर्न भनेका छौँ । २ सय सदस्यले यो पटक बेसार खेती गर्नुभएको छ । उहाँहरूले राम्रो बेसार उत्पादन गर्ने योजना पनि बनाउनु भएको छ । त्यही बेसारको चाना पहिलो चरणमा जर्मनी पठाउने छौँ’, उहाँले भन्नुभयो । 

गाउँपालिकामा उत्पादन भएको बेसारले मात्र माग धान्न नसक्ने अध्यक्ष मल्लको भनाइ छ । जिल्लाको अन्य क्षेत्रमा पनि बेसार उत्पादनका लागि किसानलाई पहिलै भनेको सहकारीले जनाएको छ । सहकारीले अदुवा र बेसार प्रशोधनका लागि उद्योग स्थापना गरेको जनाएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा राम्रो अदुवा र बेसार उत्पादन हुने गर्छ । व्यापारीले जिल्लाबाटै अदुवा र बेसार खरिद गर्दै आएकोमा अब भने जिल्लामा उत्पादित अदुवा र बेसार त्रिवेणी गाउँपालिकामा रहेको अदुवा, बेसार प्रशोधन केन्द्रले खरिद गरिदिने छ । 

प्रशोधन केन्द्रमा चाहिने भौतिक संरचना र मेशिनका लागि कर्णाली प्रदेश सरकारले सहकारी संस्थालाई १ करोड ५० लाख रुपैयाँ दिएको थियो । सहकारीले पनि उद्योग सञ्चालनका लागि ४८ हजार रुपैयाँ खर्च गरेको सहकारीका अध्यक्ष मल्लले जानकारी दिनुभयो । 

जिल्लामा उत्पादन भएको बेसार र अदुवा विदेश पठाइने भएपछि अदुवा र बेसारले पनि राम्रो मूल्य पाउने किसानको विश्वास छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update