Kath khabar
बाँझो बारीमा कोदोखेती

 

                म्याग्दी, भदौ २९ ।  गलेश्वर, म्याग्दी घरको अगाडि भिरालो बारी । गोडमेल गरेर सफा बनाएको बारीका पाटामा हुर्कंदै गरेको कोदो खेतीले सबैको नजरलाई आकर्षित गर्ने दृश्य । २ वर्षअघिसम्म वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोट लगायतका धेरै गाउँमा यस वर्षदेखि कोदोखेती गरिएको छ ।

उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो पश्चिम म्याग्दीमा भने फस्टाउँदै गएको छ । यहाँका बासिन्दाले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् ।

मालिका गाउँपालिका-६ मा पर्ने उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ । यहाँका स्थानीयले यस वर्ष २ सय मुरी भन्दा बढी कोदो उत्पादन गर्ने लक्ष्य लिएका स्थानीय रण बहादुर सिउथानीले बताए । उत्पादित कोदो बिक्री गर्नुका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर यहाँका किसानको योजना छ ।

हराउँदै गएको कोदोखेतीको संरक्षणमा ती गाउँबासी जुटेका हुन् । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले सहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन ग्रामीण क्षेत्रका वयस्कका लागि दुर्लभ खाद्यवस्तु बन्दै गएको अवस्थामा यहाँका बासिन्दाले यसको व्यावसायिक खेती गरेर रैथाने बालीको समेत संरक्षणमा लागेको मालिका गाउँपालिका-५ देविस्थानका कृषक जग बहादुर विकले बताए ।

देविस्थानमा मात्रै गाउँको ५ सय रोपनी भन्दा बढी बारीमा व्यावसायिक रुपमा नै कोदो खेती गरिएको छ । यहाँ उत्पादन भएको कोदोबाट घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गर्न सक्ने हो भने वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने स्थानीय तीर्थ बहादुर विकले जानकारी दिए ।

“गाउँमा १० वर्ष अघि देखिको कोदो भकारीमा छ । कोदो जति पुरानो भयो घरेलु मदिरा उत्पादनका लागि त्यति नै राम्रो हुने भएकाले स्थानीयले पुरानो कोदो मदिरा उत्पादन र नयाँ कोदो खाद्यान्नका रुपमा प्रयोग गर्ने गर्छौं”, उनले बताए । ग्रामीण क्षेत्रका बारीमा थोरै मात्र कोदो लगाइएको भए पनि बेनी नगरपालिका क्षेत्र भित्रका अधिकांश बारी बाँझै छन् ।

१ दशकअघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले वनमारा फैलिएको छ । “कोदो रोप्नै छाडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँबाट फलोस् कोदो ?” बेनी नगरपालिका-२ का ८९ वर्षीय बेद प्रसाद शर्माले भने । उनका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ ।

काम गर्ने जनशक्ति नहुनु तथा खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकले बताएका छन् । मालिका गाउँपालिका-२ की कलिमाया घर्तीको घरमा पनि खेती गर्ने मानिस छैनन् । उनका परिवारमा श्रीमान, २ छोरा र १ छोरी छन् ।

छोरा वैदेशिक रोजगारका लागि युएइमा छन् । बुहारीले छोराछोरी पढाउन दरबाङ बजारमा कोठा भाडामा लिएर बसेका छन् । वर्षौँ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय १ गेडा पनि छैन । कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको तर यस वर्ष भने गाउँका सबैले बारीमा कोदो रोपे पछि आफूले पनि ४ रोपनी बारीमा कोदो रोपेको उनले बताए ।

कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो र पिठो बनाएर खाने चलन हराउँदै गएको बेनी नगरपालिका-२ खबराका अगुवा कृषक चन्द्र बहादुर कार्कीले बताए ।

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन् । होटलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामल भन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटल शिखरका सञ्चालक बिमला बरुवालले बताए ।

त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टेमा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायत तत्व पाइन्छ । तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनको भनाइ छ । म्याग्दीको २० हजार ४ सय ८२ हेक्टर क्षेत्रफल खेती योग्य जमिनमध्ये ५ सय हेक्टरमा कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update