Kath khabar
जग्गाको कित्ताकाट गर्ने बढे पनि घरजग्गाको कारोबार भने घट्दो

 

                  काठमाडौं, असोज ४ ।  जग्गाको कित्ताकाट खुलाउने सरकारी निर्णयको नतिजा एक महिनामै देखिएको छ। गत वर्ष भदौको तुलनामा यो भदौमा कित्ताकाट झण्डै ४ गुणाले बढेको हो।  आर्थिक वर्ष २०७९/०८० को भदौमा १० हजार ७५२ जग्गा २१ हजार ५३० टुक्रा पारिएको थियो। चालु आवको भदौमा भने ३६ हजार २ सय ८० जग्गा ८० हजार ३ सय १८ टुक्रा पारिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।

सरकारले भू-उपयोग नियमावली जारी गरेसँगै कडाइ गरिएको जग्गा कित्ताकाट साउन मसान्तमा खुला गर्ने निर्णय गरेको थियो। जग्गा कित्ताकाट नखुलाउँदा अर्थतन्त्र दबाबमा परेको भन्दै सरकारले यसलाई सरलीकरण गर्ने नीति लिएको हो। कित्ताकाट बढे पनि घरजग्गा किनबेचको संख्या भने घटेको छ। भदौमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व बढे पनि कारोबार संख्या भने साउनको तुलनामा घटेको छ। भदौमा देशभरका मालपोत कार्यालयबाट ३५ हजार ६८६ लिखत पारित भएका छन्। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३९ हजार २६३ लिखत पारित भएको थियो।

भदौमा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ। यो रकम साउनको तुलनामा १३ करोड ५५ लाख रुपैयाँ बढी हो। भदौमा सबैभन्दा धेरै जग्गा झापाको भद्रपुर मालपोतबाट कित्ताकाट गरिएको छ। त्यहाँ १ हजार ९५८ वटा जग्गा कित्ताकाट गरेर ४ हजार ३१६ वटा बनाइएको छ। त्यसपछि इनरुवा, बेलबारी, जनकपुरधाम, नेपालगंज, पर्सा, कलैया, धनगढी लगायतका मालपोत कार्यालयबाट जग्गा बढी टुक्र्याइएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update