Kathkhabar
इलाममा उत्पादित जडीबुटीले फ्रान्समा बजार पायो


                     इलाम, असोज १५ ।  इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए । केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्स लगायत देशमा जान थालेको दाहालले बताए ।

केन्द्रलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी सञ्चालनमा ल्याएको जनाउँदै उद्योगबाट विभिन्न जडीबुटीका तेल उत्पादन हुने उनले बताए । गाउँमा उत्पादित तितेपाती, धूपी, मेन्था, धसिङ्गरे लगायतबाट तेल प्रशोधन गरिने भन्दै दाहालले हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल बिक्री हुँदै आएको जानकारी दिए । उनका अनुसार निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरी लगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ ।

उद्योगका सञ्चालक दाहाल ओसोमा विश्वास गरेर गाउँमा नै ध्यान गर्ने अनि गराउने गर्छन् । ध्यान गर्न आएका विदेशीले यहाँबाट उत्पादित वस्तु खरिद गरेर लैजान गरेको उनले बताए । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेकाले यहाँ उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको उनको भनाइ थियो ।

शुरुशुरुमा विदेशीले सामान्य रुपमा जडीबुटी लगे पनि पछिल्लो समय व्यवसायिक रुपमा नै निर्यात हुन थालेपछि आफूलाई पनि थप हौसला बढेको दाहालले जानकारी दिए । उनका अनुसार उत्पादित मेन्थाको तेल भने स्थानीय बजारमा नै खतप भइरहेको छ । तितेपाती र धूपीको तेल फ्रान्समा जान थालेको उनले बताए ।

दाहालका अनुसार धूपी २ हजार ५, तितेपाती ६ हजार, मेन्था ७ हजार र धसिङ्गरे ७ हजार प्रतिकिलो बिक्री हुने गरेको छ । धसिङ्गरेको उत्पादन पनि गाउँमा शुरु भइसकेको छ । दाहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आउएका छन् ।

बाँकी स्थानीयवासीबाट वनस्पति खरिद गरी प्रशोधन गरेर तेल उत्पादन गर्ने गरिएको दाहालको भनाइ थियो । “गाउँका किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने गरेको छु”, उनले भने, “धूपी प्रतिकिलो ८ सय र तितेपाती प्रतिकिलो ४ सयमा लिने गरेको छु ।”

सरकारी निकायबाट कुनै सहयोग नपाएकाले उद्योग फस्टाउन नसकेको उनको भनाइ थियो । गाउँमा रहेका खाली जमिनको सदुपयोग गरी स्थानीयस्तरमा व्यावसायिक जडीबुटी उत्पदान गर्ने प्रयासमा लागेको दाहालले बताए ।

“खेर गइरहेको तितेपाती, धूपी लगायत वनस्पतिबाट जडीबुटी र हर्बल तेल उत्पादन गरेर केही पैसा आउने भएपछि स्थानीयवासीले उत्पादन शुरु गरेका छन्”, स्थानीय घनेन्द्र काफ्लेले भने । यो नयाँ काम भएको भन्दै यसवर्ष धसिङ्गरेका १४ हजार बिरुवा गाउँमा वितरण गरेको बताए ।

काफ्लेले धूपी लगायत अन्य प्रजातीका बिरुवा समेत वितरण गरिएको जनाउँदै डिभिजन वन कार्यालय इलामले २ लाख बिरुवा सहयोग गरेको जानकारी दिए । स्थानीय तह तथा कृषि ज्ञान केन्द्र लगायत अन्य निकायबाट भने सहयोग पाउन नसकेको उनको भनाइ थियो ।

गाउँमा उत्पादित वस्तु बाहिर जान थालेपछि स्थानीयवासी समेत खुशी भएका केशव दाहालले बताए । “उद्योगबाट उत्पादित तेल तथा जडीबुटी विदेश निर्यात हुन थालेपछि हामीलाई पनि हौसला मिलेको छ”, उनले भने, “उद्योग विस्तार हुँदै गए स्थानीयले रोजगारी समेत पाउने छन् ।”

कस्तो जडीबुटी उत्पादन हुन्छ त ?

यहाँबाट विभिन्न वनस्पतिको तेल उत्पादन हुन्छ । उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्दा ठिक हुने उद्याग सञ्चालक दाहालको भनाइ थियो । तेल प्रयोगकर्ताले दुखाइ कम भएको बताएका छन् । हाडजोर्नी, ढाड दुख्ने तथा घुडा दुखाइका बिरामी आउने गरेका उनले बताए ।

यस वर्षबाट मात्र उत्पादित सबै वस्तु बिक्री हुन थालेकाले अब नाफामा जान सकिने सञ्चालक दाहालले बताए । स्थानीय निकाय तथा सरकारीले सडकको व्यवस्था गरिदिए यहाँबाट उत्पादित जडीबुटी अन्य जिल्लामा पनि पुर्‍याउन सकिने उनको भनाइ थियो ।

“नेपाली उखान १२ वर्षमा खोलो पनि फर्किन्छ भने झै उद्योग स्थापनाको ११ वर्षपछि यस वर्षदेखि यहाँबाट उत्पादित तेल तथा जडीबुटी फ्रान्स लगायत देश निर्यात हुन थालेको छ”, दाहालले भने, “स्थानीय तहबाट हालसम्म कुनै सहयोग भएको छैन । आर्थिक सहयोग भए, उद्योगलाई विस्तार गरी उत्पादन पनि बढाउने योजना छ ।”

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update