Kath khabar
अदालतलाई बेवास्ता गर्दै एनआरएनए केसी समूहको महाधिवेशन सुरु, खारेज हुन सक्ने



                     काठमाडौं, असोज ३० । गैरआवासीय नेपाली संघ (एनआरएनए) बद्री केसी समूहको आज अन्तर्राष्ट्रिय महाधिवेशन सुरु भएको छ । संघको वैधानिकताबारे सर्वोच्च अदालतमा मुद्दा र विचाराधीन अवस्था रहेको र उच्च पाटनले १५ दिनभित्र मागेको लिखित जवाफबीच राष्ट्रपति रामचन्द्र पौडेलले महाधिवेशनको मंगलबार उद्घाटन गरेका छन् ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन स्थगित गर्न माग गर्दै दिपेश खत्रीले दायर गरेको निवेदनमा उच्च अदालतले असोज २६ गते १५ दिनभित्र लिखित जवाफ मागेको थियो । तर, दशैँको बिदा भएकोले निवेदकले मागेअनुसार अन्तरिम आदेश गर्न सम्भव नभएको र पछि फैसला भएअनुसार हुने आदेश गरेको छ ।

यसले केसी समूहको महाधिवेशनले निर्वाचन गरेपनि अदालतले खारेज गर्ने देखिएको छ । यसबारे सर्वोच्च अदालतमा पनि मुद्दा विचाराधीन अवस्थामा छ । सर्वोच्चमा दर्ता भएको उजुरीको पहिलो पेशी असार २७ गते, दोस्रो पेशी असार ३१ गते सरेपनि साउन २ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेशको लागि दोहोरो छलफलको बोलाएको थियो । त्यसपछि पाँच पटक पेशी चढिसक्दा पनि समय अभावका कारण मुद्दाको अन्तिम टुंगो लाग्न सकेको छैन ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन रोक्न खत्रीले परराष्ट्र मन्त्रालयलाई समेत बोधार्थ दिएर एनआरएनएका सबै अध्यक्षलाई निवेदन दिएका छन् । तर, अदालतलाई वेवास्ता गर्दै कुल आचार्य र बद्री केसीले जबरजस्ती महाधिवेशनको उद्घाटन गराएका छन् ।

“अदालतको आदेशको पालना तथा सम्मान गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था नेपालको संविधानको धारा १२६ र १२८ मा प्रष्ट उल्लेख छ । श्री सर्वोच्च र उच्च अदालतको आदेशको पालना नगरेमा एक वर्षभन्दा बढी र जरिवाना हुने प्रष्ट भएकोले संविधान र कानुनअनुसार अदालतको आदेशको पालना गरी गैरआवासीय नेपाली संघको निर्वाचन स्थगित गर्न हुन अनुरोध छ” खत्रीको निवेदनमा भनिएको छ । उनले निर्वाचन स्थगित नगरिए अदालतको अवहेलनामा कारवाहीको लागि अदालत जाने समेत चेतावनी दिएका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डको रोहबरमा दुबै पक्षबीच एकता गर्ने र ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्ने सहमति भएको थियो । तर, केसीकै कारण उक्त सहमति कार्यान्वयन हुन नसकेको अर्को पक्षले बताएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update