Kath khabar
काठमाडौं उपत्यकामा घरजग्गाको कारोबार १८ प्रतिशतले बढ्यो

 

                  काठमाडौं, कात्तिक १४ ।  पछिल्लो समय काठमाडौंमा घरजग्गा कारोबार बढ्न थालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले घरजग्गा कारोबार बढेको देखाएको हो।

चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा काठमाडौं उपत्यकामा २ हजार ३ सय १५ संख्यामा घरजग्गा कारोबार भएको छ। यो भदौ महिनाको तुलनामा १८ प्रतिशत बढी हो। भदौमा १ हजार ९ सय ५० संख्यामा घरजग्गा कारोबार भएको थियो।

साउनको तुलनामा भदौमा पनि १० प्रतिशतले घरजग्गा कारोबार बढेको विभागको तथ्यांक छ। साउनमा १ हजार ७ सय ६० संख्यामा घरजग्गा कारोबार थियो। गत वर्ष असोज महिनाको तुलनामा यस वर्ष सोही अवधिमा ४८ प्रतिशतले घरजग्गा कारोबार बढेको छ। गत वर्ष असोजमा १ हजार ५ सय ९६ संख्यामा मात्र घरजग्गा कारोबार भएको थियो। घरजग्गा किनबेच सँगै कित्ताकाट पनि वृद्धि भएको छ।

भदौको तुलनामा असोजमा ३४ प्रतिशतले जग्गा कित्ताकाट बढेको विभागको तथ्यांक छ।  भदौमा ५ सय ३२ संख्यामा जग्गा कित्ताकाट भएको थियो भने असोजमा ७ सय १५ संख्यामा कित्ताकाट भएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनी अहिले घरजग्गा कारोबार बढ्नुको तीन कारण बताउँछन्। पहिलो, कित्ताकाट खुल्नु, दोस्रो कारण हो बैंक कर्जाको ब्याजदर घट्नु, तेस्रो कारण हो रेमिटेन्स बढ्नु।

नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनी यिनै कारणले गर्दा घरजग्गाको कारोबारमा क्रमशः सुधार आउँदै जाने बताउँछन्। 'असोज देखि सुधार हुन थालेको हो,' उनले भने, 'मसिंर देखि सिजन शुरू हुने भएकाले घरजग्गा कारोबार झनै बढ्छ।' कात्तिकमा भने दशैं तिहार जस्ता चाडका कारण सार्वजनिक बिदा धेरै भएकाले घरजग्गा कारोबार केही घट्ने उनको अनुमान छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update