Kath khabar
हिमाल किन कालो हुँदैछ ?

                   

                     गण्डकी, मंसिर २६ । पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवका अवसरमा सोमबार आयोजित ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ शीर्षकमा भएको समूहगत छलफलमा विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा. घनश्याम गुरुङले विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउन्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्ने बताएका छन् ।

पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने तथा अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुने गुरुङले उल्लेख गरे । पृथ्वीको तापक्रम वृद्धि र धुवाँधुलोका कारण हिमाल पग्लिरहेको उनको भनाइ छ ।

संरक्षणविद् गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राखे । “जलवायु परिवर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नु हुँदैन”, उनले भने, “अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ ।”

“जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्यलगायत यावत क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष असर पुर्याइरहेको छ, जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकूलन हुनुबाहेक अर्को विकल्प छैन” कार्यक्रमका अर्का वक्ता जीविकोपार्जन तथा बसाइँसराइविद् डा. अमिना महर्जनले बताइन् ।

पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको छ । केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण हो । जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे कम बहस हुने गरेको छ, खासै अनुसन्धान पनि भएको छैन, नयाँ-नयाँ जनस्वास्थ्यका समस्या निम्तिरहेका छन्, रोग विस्तार भएका छन् ।” डा. महर्जनले भनिन्,

उनले जलवायु अनुकूलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यून मात्र मद्दत आउने गरेको उल्लेख गरिन् । “जति प्रयास स्थानीय समुदायबाट भएको छ, सरकारबाट त्यति हुनसकेको छैन, ‘लस एण्ड ड्यामेज फन्ड’का लागि पनि सरकारले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्छ,” उनको भनाइ छ । पत्रकार दीक्षितले पेट्रोलियम पदार्थको सट्टा जलविद्युत् र नवीकरणीय ऊर्जाको प्रयोगलाई राज्यले प्रोत्साहित गर्नुपर्ने धारणा राखे ।

छलफलमा भाग लिँदै पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनलाई अब जलवायु संकट भन्नुपर्ने बेला आएको बताए । जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नहेरेर अर्थ-राजनीतिक पाटोबाट पनि हेर्नुपर्ने धारणा राखे । हिमालबाट हिउँ रित्तिए नदी र पानीको स्रोत सुक्ने उनले बताए । “पृथ्वीको तापमान वृद्धि भइरहेको छ, अबको केही दशकमा हाम्रा हिमालहरू हिमालजस्तै नरहन सक्छन्, त्यसबाट पानीको संकट उत्पन्न हुन्छ”, उनले भने, “पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्छ ।” नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उनको सुझाव छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update