Kath khabar
दुई पाठेघर भएकी महिलाले दुई दिनमा जन्माइन् दुईवटा सन्तान

 

                  काठमाडौं, पुस ८ । अमेरिकामा दुर्लभ दुईवटा पाठेघर भएकी एक महिलाले दुई दिनमा दुई वटा सन्तान जन्माएकी छन् ।

३२ वर्षकी केल्सी हेचरले गत मङ्गलवार पहिलो र बुधवार दोस्रो छोरीलाई युनिभर्सिटी अफ अलाबामा बर्मिङ्घम अस्पतालमा जन्म दिएकी थिइन् । अलग अलग जन्म मिति सहितका दुर्लभ जुम्ल्याहाका रूपमा ती बालिकाहरूलाई लिइएको छ।

दश लाखमा एक पटक हुने त्यस्तो खालको गर्भावस्था भनिएको उक्त घटनामा ती महिला २० घण्टा प्रसव व्यथामा थिइन् । आफूले ‘अद्भुत सन्तान’हरू जन्माएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गरेकी छन्।

हेचरले आफ्नो परिवार अहिले घर पुगेको र ‘बिदा मनाउन सक्ने’ बताएकी छन् । यसअघि उनले क्रिसमसको समयमा सन्तान जन्मिने ठानेकी थिइन् । ती आमालाई १७ वर्षको उमेरमा उनको दुईवटा पाठेघर रहेको बताइएको थियो र त्यसलाई दुर्लभ जन्मजात समस्याका रूपमा यूनिभर्सिटी अफ अलाबामा बर्मिङ्घमले उल्लेख गरेको छ।

संसारभर ०.३ प्रतिशत महिलामा त्यस्तो समस्या देखा पर्नेगर्छ । दुईवटा पाठेघर रहेको अवस्थामा गर्भ रहने सम्भावना दश लाखमा एक रहने उक्त विश्वविद्यालयले जनाएको छ । यस्ता घटना विश्वका अन्य ठाउँमा पनि खासै भएका छैनन् । सन् २०१९ मा बाङ्ग्लादेशकी एकजना चिकित्सकले आफ्नो अर्को पाठेघरमा रहेको बच्चालाई समय नपुग्दै जन्माएकी एक महिलाले त्यसको लगभग महिना दिनपछि जुम्ल्याहा जन्माएको बताएकी थिइन् ।

हेचरको विगतमा तीन पटक स्वस्थ्य गर्भ रहेको थियो । यसपटक उनले एउटा मात्रै पाठेघरमा गर्भ रहेको ठानेकी थिइन्। तर नियमित अल्ट्रासाउन्ड परीक्षणमा दोस्रोमा पनि बच्चा रहेको देखियो। “मलाई सास फेर्नै गाह्रो भयो । हामीले त्यो पत्याउनै सकेनौँ,” उनले भनिन् ।

उनकी प्रसूति र स्त्री रोग सम्बन्धी चिकित्सकले नियमित ढङ्गले १९ डिसेम्बरको साँझ बच्चा जन्मिएपछि सबै जना खुसी भएको बताइन् । त्यसको १० घण्टापछि दोस्रो सन्तान शल्यक्रियाबाट जन्मिएकी थिइन् । (बीबीसी)

 

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update