Kath khabar
आजदेखि भिजिट भिसामा विदेश जानेसम्बन्धी कार्यविधि खुकुलो, पुरानो कार्यविधि खारेज

 

                      काठमाडौं, माघ १० । सरकारले भिजिट भिसामा विदेश जानेसम्बन्धी कार्यविधि खुकुलो बनाएको छ । यसअघिको १७ बुँदे कार्यविधि खारेज गर्दै ६ बुँदे नयाँ कार्यविधि जारी गरेको छ । योसँगै भिजिट तथा पर्यटकीय भिसा खुकुलो भएको छ ।

यसअघिको कार्यविधिले सेटिङधारीलाई सजिलो बनाएको र विदेश गएर सर्वसाधारण नेपालीले अत्यधिक दुःखकष्ट व्यहोर्न बाध्य भएकोले त्यस्तो अवस्था आउन नदिन पुरानो कार्यविधि खारेज गरी नयाँ कार्यविधि जारी गरिएको गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बताए ।

नयाँ मापदण्डअनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्छ । सम्बन्धित देशको भिसा वा अनअराइभल भिसा प्राप्त हुने देश भए प्रवेशाज्ञा चाहिने र भ्रमणमा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने विभागले जनाएको छ ।

भिजिट भिसामा खाडी देश जानेले अध्यागमन विभागले बनाएको एक कागजमा स्वघोषणा गर्नुपर्ने हुन्छ । युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने विभागले जनाएको छ । अध्यागमनले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने जनाएको छ ।

अब घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरुलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्न सरकारले सबैमा अनुरोध गरेको छ । भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्न समेत भनेको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update