Kath khabar
लहानका किसानले फलाए रङ्गीन र फरक स्वाद भएको काउली

 

                     सिरहा, माघ २४ । सिरहाका एक किसानले रंगिन काउली फलाउन सफल भएका छन् । लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाएका हुन् ।

सात वर्षअघि उनी वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेको उनले बताए । "स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाए । परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु” उनले भने ।

उनले एक किलोसम्मको काउली फलाएका थिए । “यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पुर्‍याउनसाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,” किसान साहले भने, “आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।” उनले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो दुई सय दरले बिक्री गरेका थिए ।

गुलाबी र पहेँलो रङ्गका आकर्षक काउली हेर्न अहिले खेतमा घुइँचो नै लाग्न थालेको उनले बताए । “सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ । अहिले हेरिसकेपछि मनै आनन्दित भयो ।” प्रधानाध्यापक कुशेश्वर यादवले भने ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update