Kath khabar
कोरियन भाषा परीक्षा आजदेखि, एक दिनमा पाँचवटा सिफ्ट



                    काठमाडौं, फागुन ७ । कोरियन भाषा परीक्षा आजदेखि सुरु भएको छ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि तीन दिन सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ।

ललितपुरको भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको परीक्षा एक दिनमा पाँचवटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिनुभयो ।

“पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिनेछन्, शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएका छौँ, अन्य सिफ्ट त्यसपछि तय गरिने छ”, उहाँले भन्नुभयो । 

परीक्षार्थीहरु परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । परीक्षा सुरु हुनुअघि एक घण्टा अगाडि परीक्षा हलमा ओरेन्टेसन शुरु हुनेछ साथै निर्धारित समयमा उपस्थित नभए परीक्षामा सहभागी नगराइने निर्देशक कडेलले जानकारी दिनुभयो ।

परीक्षामा मोबाइल फोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ । परीक्षामा चिट चोर्ने, नक्कल गरेको लगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुकासाथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update