Kath khabar
अप्रिल १ मा मात्रै किन मनाइन्छ अप्रिल फूल डे ?


                    काठमाडौं, चैत १९ । आज अप्रिल १ तारिख । यस दिनलाई विश्वका कयौँ देशमा ‘अप्रिल फूल’ को रुपमा मनाउने गरिन्छ । नेपालीमा ‘मूर्ख दिवस’ भन्ने गरिएको छ । यो दिवस विश्वभर उत्साहका साथ मनाइन्छ ।

यस दिन मानिसहरु एकअर्कालाई मूर्ख बनाउन विभिन्न जुक्तिहरु प्रयोग गर्छन्, एकअर्कालाई मूर्ख बनाएर खिल्ली उडाउँछन् र मजाक बनाउन सफल भएपछि 'अप्रिल फूल' भनेर नारा लगाउँछन् । केहि वर्ष यता नेपालमा पनि अप्रिल फूल मनाउने प्रचलन छ । यो दिन एकअर्कालाई हानी नपुग्नेगरी रमाइलोका लागि सिमित रुपमा मूर्ख बनाएर मनाइन्छ ।

कसरी सुरु भयो अप्रिल फूल दिवस ?
अप्रिल फूल डेसँग सम्बन्धित धेरै कथाहरू छन्, तर वास्तविक कुरा के हो भनेर धेरै कम मानिसहरूलाई थाहा छ । अप्रिल फूल दिवस कहाँ र कसरी मनाउन सुरु भयो त ?

अप्रिल १ मा किन अप्रिल फूल दिवस मनाइन्छ भन्ने ठोस प्रमाण नभए पनि यसबारे धेरै कथा प्रचलित छन् । जसमध्ये एउटा अनुसार अप्रिल फूल डे १३८१ मा सुरु भयो। भनिन्छ कि तत्कालीन राजा रिचर्ड द्वितीय र बोहेमियाकी रानी एनीले ३२ मार्च १३८१ मा इन्गेजमेन्ट गर्ने घोषणा गरेका थिए । इन्गेजमेन्टको खबर सुनेपछि जनता हर्षले उफ्रिए तर चैत ३१, १३८१ मा जनताले ३२ मार्च कहिल्यै आउँदैन भन्ने बुझे । यसपछि जनताले आफूलाई मूर्ख बनाएको बुझे । त्यसयता ३२ मार्च अर्थात १ अप्रिललाई मुर्ख दिवसका रूपमा मनाउन थालिएको बताइएको छ । केही कथाहरूका अनुसार, अप्रिल फूल डे १३९२ बाट सुरु भयो।

केही कथाहरूका अनुसार नयाँ वर्ष यसअघि युरोपेली देशहरूमा १ अप्रिलमा मनाइन्थ्यो। तर, पोप ग्रेगरी १३ ले नयाँ क्यालेन्डर अपनाउन आदेश दिएपछि जनवरी १ बाट नयाँ वर्ष मनाउन थालियो । केही मानिसहरू अझै पनि १ अप्रिलमा नयाँ वर्ष मनाउँदै थिए। त्यसबेला यस्ता मानिसहरूलाई मूर्ख मानिन्थ्यो र खिल्ली उडाइन्छ। यसरी सुरु भयो अप्रिल फूल डे । यद्यपि, १९औं शताब्दीमा, अप्रिल फूल डे धेरै लोकप्रिय भएको थियो।

मुर्ख दिवस विभिन्न देशहरूमा विभिन्न तरिकाले मनाइन्छ । डेनमार्कमा, अप्रिल फूल डे मे १ मा मनाइन्छ र यसलाई माज-कुट भनिन्छ। फ्रान्स, इटाली र बेल्जियममा कागजको माछा बनाएर मानिसको पिठमा टाँसेर खिल्ली उडाइन्छ । स्पेनी भाषा बोल्ने देशहरूमा, अप्रिल फूल दिवस डिसेम्बर २८ मा मनाइन्छ ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update