Kath khabar

 

              काठमाडौं, चैत १९ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताउनुभएको छ ।     

नेपाल रानाथारु युवा समाजले पहिलो पटक आज काठमाडौँमा आयोजना गरेको होली मिलन तथा खखडेहरा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफुले पहल गर्ने बताउनुभयो । कैलाली र कञ्चनपुरका बस्तीको विकास तथा सुदूरपश्चिमको पहिचानमा रानाथारु समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै उहाँले उद्योग मन्त्रालयबाट सो समुदायको आर्थिक उत्थान हुने कार्यक्रम बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।     

मन्त्री भण्डारीले लिखित रुपमै उत्पादनमुखी कार्यक्रम ल्याउन रानाथारु युवा समाजलाई आग्रह गर्दै व्यावसायिकरुपमा पहिचान झल्काउने गरी नयाँ बजेटमार्फत कार्यक्रम ल्याउने बताउनुभयो । विभिन्न पेशा तथा व्यवसायमा पहिचान बनाएका रानाथारु समुदायको पहिचान सिङ्गो देशले देख्ने गरी काठमाडौँमा होली मिलन कार्यक्रम आयोजना गरेकामा उहाँले सो कार्यको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, पूर्वमन्त्री नारदमुनी राना, संविधानसभा सदस्य कृपाराम रानालगायतले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको उत्थानका लागि गर्नुपर्ने विषयमा चर्चा गर्नुभएको थियो । होली मिलन कार्यक्रममा सहभागी हुन कैलाली र कञ्चनपुरबाट कलाकारसहितको छुट्टाछुट्टै टोली यहाँ आएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update