Kath khabar
उद्यम गरेर स्वावलम्बी बन्दै बाँकेका एकल महिला

जानकी (बाँके), चैत २४ । धनी परियारको दैनिकी विवाहमा प्रयोग हुने सगुनको डालो, सुपो, शाहीपाटो, घुम्टो, जडी मालालगायत शृङ्गारका सामग्री बनाउनमा बित्छ । 

पचास वर्षीया उहाँले    नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित ४५ दिने विवाहको ‘सगुन एवं शृङ्गारका सामग्री निर्माण तालिम’ मा सहभागी भएपछि ती सामान बनाउन थाल्नुभएको हो ।   

एकल महिला उहाँ नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीकी स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले वर्षौँ कपडा सिलाएर जीवन गुजारा गर्दै आएको बताउनुभयो । “मैले १२ वर्षसम्म सिलाइ गरेर खर्च जृुटाएँ, दैनिक दुई सय पचास देखि पाँच सयसम्म कमाइ हुन्थ्यो । त्यसले घर खर्च चलाउन धौधौ हुन्थ्यो ।”

हातमा सीप भयो भने आफ्नो बेग्लै पहिचान हुने र आर्थिकरुपमा पनि बलियो भइन्छ भन्ने लागेर तालिममा सहभागी उहाँले नेपालगञ्जको सीप विकास तालिम केन्द्रको सभाकक्षमा  सगुनको मखमली डालो देखाउँदै भन्नुभयो, “तालिमको प्रमाणपत्र पाइयो अब व्यवसाय गर्ने हो ।” 

धनी परियार जस्तै सोही तालिमकी सहभागी प्रमिला केवँट । घाँस काटेर जीविकोपार्जन गर्नु भएकी उहाँ अब तालिममा सिकेको सीपबाट व्यावसायिक परिचय बनाउनेतर्फ लाग्ने बताउनुहुन्छ । उद्यमशीलतासम्बन्धी  दुईदिने तालिममा सहभागी भएपछि पुनः एक हप्ताको तालिमबाट छानिएर उहाँ ४५ दिने सगनु एवं शृङ्गारका सामग्री  बनाउने तालिममा सहभागी हुनुभएको हो । 
दिदी भिनाजुसँगै बस्दै आउनु भएकी प्रमिलामा  प्रशिक्षक सङ्गीता गौतमले  भनेझैं आफ्नै व्यवसाय सञ्चालन क्षमता छ । “मैले अनुभवको लागि मात्र यो तालिम लिएको होइन म अब उद्यम गर्न चाहन्छु,” रासस प्रतिनिधिसँग उहाँले भन्नुभयो । 

नेपालगञ्ज उपमहानगरपालिका -१ वाटरपार्ककी नम्रता मल्ललाई पनि धनी परियार र प्रमिला केँवटजस्तै उद्यमी बनेर आफ्नै व्यवसाय गर्ने चाहना छ । सीपले स्वावलम्बी बनाउने वास्तविकता  बुझेर नै उहाँहरू उद्यम गरिरहनुभएको छ । उहाँहरूसँगै अन्य १० जना महिला पनि सीप सिकिरहनुभएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update