Kath khabar
गर्मीमा यसरी गर्नुहोस् पुदिनाको प्रयोग

                      

                                 काठमाडौं, वैशाख २४ । अचारको रूपमा प्रयोग गरिने पुदिना अर्थात बाबरी औषधीय गुणले भरीपूर्ण वनस्पति हो ।  पुदिनामा क्यालोरी, फाइबर, भिटामिन ए, आइरन, म्याग्निज, र मेन्थोल प्रचुर मात्रामा पाइन्छ । त्यसैले, यो धेरै प्रकारका औषधि बनाउनसमेत प्रयोग गरिन्छ । 

गर्मी मौसममा पुदिनाको अचारले खानाको स्वाद बढाउँछ । यो स्फूर्तिदायी हुनुको साथै पाचनका लागि पनि अद्भुत छ । यसको प्रकृति पनि चिसो हुन्छ, जसका कारण यसले शरीर र छालालाई शीतल राख्न काम गर्छ ।

पुदिनाले रगतलाई सफा गर्ने काम गर्छ । पुदिनामा क्यान्सरसँग लड्न अद्भूत क्षमता हुन्छ । शरीरभित्र भएको कतिपय ब्याक्टेरिया र ढुसीको वृद्धिदर यसले रोक्दछ । त्यसैले दम एलर्जीजस्ता रोगमा पुदिना ज्यादै उपयोगी मानिन्छ । यति मात्र नभई सौन्दर्यका लागि पनि पुदिना उपयोगी छ । छालाको चाउरी हटाएर चम्किलो बनाउन, कपाल झर्नबाट रोक्न, चायाबाट जोगिन पनि यसको प्रयोग गर्न सकिन्छ । पुदिनाले स्वासप्रस्वास, खोकी आदि समस्याको समाधान गर्नुका साथै महिलाको महिनावारीमा हुने दुखाइसमेत कम गर्छ ।

कसरी प्रयोग गर्ने पुदिना ?
पुदिना फेस प्याक
गर्मी मौसममा आफ्नो छालालाई तातो र दाग धब्बाबाट जोगाउन पुदिनाको प्रयोग गर्न सकिन्छ । यसका लागि पुदिनाको पातलाई पेस्ट बनाएर नियमित रूपमा अनुहारमा लगाउनुहोस् । यसले दाग सहित पिम्पलको समस्या पनि हट्छ ।

माउथ वाश बनाउनुहोस्
सास गन्हाउने, गिजा पोल्ने, दाँत दुख्ने जस्ता समस्याबाट बच्न पुदिनाको माउथ वास बनाएर दैनिक प्रयोग गर्नुहोस् । यसको लागि तपाईंले यसलाई या त पानीमा उमालेर, बोतलमा राखेर फ्रिजमा स्टोर गर्न सक्नुहुन्छ । वा यसको पातहरू चपाउन सक्नुहुन्छ । यसो गर्दा मुखको धेरै समस्याहरू टाढा रहनेछन् ।

शरीरलाई चिसो बनाउन
यदि तपाइँ गर्मीको कारण समस्यामा हुनुहुन्छ वा तपाइँको छालामा घमौरा आएर हैरान हुनुहुन्छ भने पानीमा पुदिनाको पात उमाल्नुहोस् । अब यो पानीलाई छानेर चिसो पार्नुहोस् । त्यसपछि यो पानीलाई नुहाउने पानीमा मिसाउनुहोस् । नुहाउँदा यो पानी प्रयोग गर्नुहोस् ।

छालाको जलन हटाउन
घामका कारण छालामा सनबर्न भएको छ भने पुदिनाको प्रयोग गर्नुहोस् । यसका लागि पुदिनाको पात उमालेर चिसो बनाउनुहोस् । त्यसपछि यसलाई कपासको सहयोगले सनबर्न भएको ठाउँमा लगाउनुहोस् । यसले राहत मिल्नेछ ।

लामखुट्टे भगाउन
यदि घरमा धेरै झिंगा र लामखुट्टे छन् भने, तपाईं पुदिना प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि यसलाई पानीमा उमालेर स्प्रे बोतलमा राख्नुहोस् । यसलाई घरमा स्प्रे गर्नुहोस् । यसले कीटनाशक जस्तै काम गर्नेछ ।

पुदिनाको दिनहुँ सेवनले गर्मीमा लु बाट समेत केही राहत समेत मिल्न सक्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update