Kath khabar
निर्मल पूर्जालाई चितवनमा सम्मान गरिने

चितवन, चैत्र ९। कृतिमानी हिमाल आरोही निर्मल पूर्जालाई चितवनमा सम्मान गरिने भएको छ । बिहीबार उहाँलाई सम्मान गर्न लागिएको हो । निर्मल पूर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुरले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पूर्जालाई सम्मान गर्न लागिएको जनाएको हो । 

उहाँ गृह जिल्ला आएको समयमा स्वागत तथा सम्मान गर्न लागिएको समितिका अध्यक्ष हरिकुमार गुरुङले बताउनुभयो। उहाँका अनुसार पुर्जाको सम्मानका लागि चैत १० गते दिउँसो १ः३० बजे भरतपुर विमानस्थलमा स्वागत, २ बजेदेखि लायन्स चोकबाट पुलचोक, पोखरा बसपार्क, रामनगर हुँदै नारायणी तिरसम्म अभिनन्दन यात्रा, ३ बजेदेखि सांस्कृतिक कार्यक्रम, ४ बजे नारायणी नदी किनारमा सम्मान र साँझ ६ बजे वृत्तचित्र प्रदर्शन गरिने छ । 

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गर्नुभएका पूर्जाले ती हिमाल आरोहणका लागि छ महिना छ दिन लगाउनुभएको थियो । नेपालका आठ, पाँच पाकिस्तानका र एउटा चीनको हिमाल आरोहण गर्नुभएका पूर्जा भरतपुर महानगरपालिका-१ रामनगर निवासी हुनुहुन्छ । सन् १९८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा जन्मनुभएका पूर्जा छ वर्षको उमेरदेखि रामनगरमा बस्दै आउनुभएको हो । 

सन् २०१२ डिसेम्बरबाट निर्मल पूर्जाले हिमाल चढ्न सुरू गर्नुभएको हो। उहाँले आठ हजार मिटरमाथिका १४ हिमाल आरोहण गरेको कीर्तिमान छ । यो कीर्तिमानी उहाँले दुई वर्षअघि नै बनाउनुभएको हो। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ्–हो हुनुहुन्थ्यो । उहाँले १४ हिमालको आरोहण सक्न सात वर्ष १० महिना छ दिन लगाउनुभएको थियो । सन् १९८७ मा कायम गरेको कीर्तिमान उहाँले ३० वर्षपछि छोटो समयमा सम्पन्न गरेर भङ्ग गर्नुभएको हो । 

उहाँले आधिकारिक रूपमा ४ वटा विश्व कीर्तिमान तोडेर लण्डनस्थित गिनिज वर्ल्ड रेकर्डको मुख्यालयमा सम्मानित हुनुभएको छ। बेलायतको इष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्वगोर्खा आरोही पूर्जालाई सम्मान गरेको थियो । पूर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दी बरो’ उपाधिसहित सम्मान गरिएको हो । उहाँ नेपाल पर्वतारोहण सङ्घको सद्भावना दूतसमेत रहनुभएको छ । उहाँ कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुनुहुन्छ ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update