Kath khabar
माटोको जग्गा पैसाले किन्न सकिन्छ तर मुटुभित्रको जग्गा पैसाले किन्न सकिन्न

      काठमाडौं, वैशाख ८। एक प्रतिष्ठित, वरिष्ठ हास्य कलाकार, नेपाली अभिनेता, लेखक, गायक, गीतकार, निर्देशक र निर्माता मदनकृष्ण श्रेष्ठ । आफ्नो समयमा सबैभन्दा लोकप्रिय स्टेज कलाकार रहनुभएका श्रेष्ठ नेपाली मनोरन्जन उद्योगमा सबैभन्दा सफल र सम्मानित हास्य कलाकार हुनुहुन्छ ।

नेपाली मनोरञ्जन क्षेत्रमा मदनकृष्ण श्रेष्ठको योगदान अपरिहार्य छ । जीवनलाई आनन्द र हाँसोले भर्ने प्रतिभाशाली अभिनेताहरू मध्ये एक हुनुहुन्छ । उहाँले धेरै चर्चित नेपाल भाषा र केही नेपाली गीतहरु गाउनुभएको छ। बहुमुखी अभिनयका धनी श्रेष्ठ लेखनमा पनि रुचि राख्ने कलाकार हुनुहुन्छ। उहाँको पुस्तक 'महको म' नेपाली पुस्तकहरूमा चर्चित छ। उहाँले हरिवंश आचार्यको जोडीसँगको आफ्नो मित्रताको वर्णन गर्दै  ‘महको म’ पुस्तक लेख्नुभएको थियो । पुस्तक नेपाली पाठकहरूमाझ उत्कृष्ट पुस्तक बनेको छ ।

उहाँले उत्कृष्ट अभिनेता, सर्वोत्कृष्ट गायक, उत्कृष्ट निर्देशक आदि अवार्डहरु प्राप्त गर्नुका साथै गोरखा दक्षिण बाहु पुरस्कारबाट पनि सम्मानित हुनुहुन्छ। आज उहाँको ७२ औं जन्म दिन । उहाँले आफ्नो ७२औं जन्मदिनको अवसरमा अमृत वचनहरुद्धारा शुभकामना पाउँदा आफूलाई मनभित्रको जग्गा प्राप्त भएझै लागेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ:

"२०२२/०२३ सालतिर आफूले रेडियो नेपालमा गीत गाउँदा यो २०७९ सालको कल्पना सम्म पनि गरेको थिइन ।  जानी नजानी यो कला क्षेत्रमा मेडिटेसन गरेको जस्तो गरी आँखा चिम्म्म्म्म्म गरेर यस्तरी लागियो कि आँखा खोलेर फर्केर हेर्दा त ओख्खोखोखो ७२ बर्ष बितिसकेछआम्म्मामामामा कति छिटो ७२ वर्ष बितेको हो यो !  

मेरो बा ५३ वर्षको उमेरमा स्वर्गीय हुनु भएको थियो। ५३  वर्षको बा कस्तो बूढो बूढो लाग्थ्यो । अहिले आफू ७२ वर्ष भईयो भन्दा झन पठ्ठो नै लागिरहेकोछ । कतै आफू जन्मेको साल सुन्नमा गडबड भएको पो हो कि त भनौं भने म हरिवंश जस्तो चिना हराएको मान्छे त हैन । मेरो चिनामा २००७ साल नै लेखिएको छ ।

माटोको जग्गा पैसाले किन्न सकिन्छ। तर मुटु भित्रको जग्गा पैसाले किन्न सकिन्न । जब कला क्षेत्रमा कस्सेर लागियो त्यस बेला देखि एउटा चाहना तथा उद्देश्य थियो कि धेरै भन्दा धेरै नेपालीहरूको मन मनमा सके एक बिगाहा, नसके एक रोपनी, त्यो पनि नसके चार आना, त्यो पनि नसके एकै आना जत्ति मात्र भए पनि एक टुक्रा सानु जग्गा लिएर त्यो जग्गामा सदाका लागि जाडो महिनामा न्यानो र गर्मीको मौसममा सितल भैरहने एउटा सानु घर बनाएर बस्ने इच्छा थियो ।

मेरो यो ७२औं वर्षको जन्म दिनमा यती धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूले मेरो सुस्वास्थ्य, दीर्घायुसकृयताको लागी अमृत वचनहरु व्यक्त गरेर शुभकामनाहरू दिनु भएको देख्दा अलि अलि भए पनि मन भित्रको जग्गा प्राप्त भए झैं लागिरहेको छ । 
 

हजुरहरु निरोगी होस, चिरायु होस, सुख समृध्द होस र सबैको जय होस ।
उहि मदनकृष्ण श्रेष्ठ

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update