Kath khabar
वन्यजन्तुको अस्पतालबाट आधा किमीको दूरीमा रहेको 'काजलकली' उपचार नपाएर ढल्नु दुखदपूर्ण

            चितवन, असार ६। चितवनको सौराहामा पालिएकी पोथी हात्ती काजलकली २० वर्ष अघि सौराहामै पर्यटक बोक्ने गर्थी । उक्त हात्ती पाँच महिनादेखि बिरामी छ। काजलकली पछिल्लो हप्तादेखि केही खान नसक्ने भएको छ । एक महिनामा तीनचोटीसम्म ढलेकी काजलकली अहिले उठ्न नसक्ने अवस्थामा पुगेको छ । करिब ७० वर्ष पुगेको बिरामी काजलकलीको समयमा नै उपचार नहुनु दुखदपूर्ण छ ।

दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ती अहिले बेवारिसे भएको छ । बेच्ने व्यापारीले पैसा लिइसकेकाले फिर्ता ल्याइएको हात्तीको जिम्मा नलिएपछि हात्ती बेवारिसे भएको हो । पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन। तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्‍याउने गरेका छन् ।

‘हात्ती बिरामी भएको पाँच महिना भइसक्यो । बेच्नेले जिम्मा नलिने र सरकारी पक्षबाट निकुञ्जले पनि जिम्मा नलिएपछि कुनै परीक्षण नै भएन, अहिलेसम्म के रोग लागेको हो भन्ने नै थाहा छैन । एक महिनामा मात्रै तीन पटक लड्यो । अहिले मर्न लागेपछि सामान्य प्राथमिक उपचार मात्रै गरिएको छ ।’ चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेन्टर प्रमुख विश्वबाबु श्रेष्ठ बताउछन् ।

दर्ता भएका बन्दी हात्तीहरूको नामावलीमा काजलकलीको नाम नै नभएको उनले बताए । छ महिनाअगाडि उक्त हात्तीलाई भारत बेच्न लागिएको थियो । पहिलो पटकको प्रयास सफल नभएपछि एकै महिनामा दोस्रो पटक भारत लगिँदै गर्दा पुनः सिमानाबाट फिर्ता ल्याइएको हो ।

सो हात्ती अहिले होटल पार्क साइट नजिकै मृत्यु कुरेर बसेको छ । श्रेष्ठले सो हात्ती सौराहाका व्यवसायी मधुकर रेग्मीको भएको पुष्टि गरेका छन्। रेग्मीले भने सो हात्ती आफ्नो नभएको प्रतिक्रिया दिएका छन् । रेग्मीले भारतका व्यापारीलाई बिक्री गरेपछि हात्ती सिमानाबाट फिर्ता ल्याइएको हो । निकुञ्जले बिरामी हात्तीको निगरानी गरिरहेको उनको भनाइ छ ।

तीन पटकसम्म ढल्दा उसको शरीर घाउले भरिएको छ । काजलकलीको नेपाली साहु खोजेर उसलाई कारबाही गर्न पशु अधिकारकर्मी श्रेष्ठले माग गरेका छन् । 'सम्बधित निकायले काजलकलीको नेपाली साहु को थियो भनेर छानबिन गरोस् । अनि उक्त व्यक्तिलाई कानूनी दायरामा ल्याएर सजाय दिइयोस्’, उनले भने । वन्यजन्तुको उपचार गर्ने अस्पतालबाट करिब आधा किमीको दूरीमा रहेको काजलकली भने उपचार नपाएर मर्नु दुःखद भएको उनी बताउँछन् ।

 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update