Kath khabar
गर्मीमा दौडिदा ९ जना प्रहरी प्रशिक्षार्थी बेहोस, २ जना आइसियूमा

          धनगढी, असार २३ ।  सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा तालिमरत ९ जना प्रहरी प्रशिक्षार्थीलाई हिट स्ट्रोकु भएको छ । अत्यधिक गर्मीको वेला १० किलोमिटर दौडका क्रममा प्रहरी प्रशिक्षार्थी बेहोस भएका हुन् । बेहोस भएका मध्ये धेरै समस्या देखिएका सरोज चौधरी र प्रशान्त रावललाई सेती प्रादेशिक अस्पतालको आइसियूमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

उनका अनुसार अन्य एकजनाको जनरल वार्डमा उपचार भइरहेको छ । त्यस्तै, ६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । नियमित प्रशिक्षणमा रहेका उनीहरू बुधबार बिहान धनगढी भन्सार रोड देखि फाप्ला क्रिकेट मैदान सम्म दौडेका थिए । नायब उपरीक्षक जोशीका अनुसार यो रुटमा उनीहरू दैनिक दौडने गरेका थिए । बढी गर्मीमा दौडेका कारण यस्तो समस्या आएको सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष इन्चार्ज भरत खातीले बताए ।

प्रहरी नायब उपरीक्षक जोशीका अनुसार तालिमका क्रममा रहेका प्रशिक्षार्थीहरू भदौमा पासआउट हुनेछन् । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायलमा बढी प्रशिक्षार्थी भएकाले केहीलाई धनगढी र केहीलाई महेन्द्रनगरमा तालिम प्रदान गर्ने काम भइरहेको उनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update