Kath khabar
पटिहानी रिसोर्ट अब होटल सोल्टीले व्यवस्थापन गर्ने


            चितवन, असार २६ ।  भरतपुरको पटिहानीमा रु. १ अर्बको लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने भएको छ । पटिहानी रिसोर्ट निर्माण गरेको रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालि र सोल्टी समूहको व्यवस्थापन बीच रिसोर्ट सञ्चालनका विषयमा आज सहमति भएको हो । सहमति सँगै सोल्टी ‘वेस्ट इन्ड रिसोर्ट’ पटिहानीका नाममा आगामी भदौ १ गतेदेखि होटल सञ्चालनमा आउने भएको छ ।  भरतपुर महानगरपालिका-२२ राप्ती नदी तटीय क्षेत्रमा यो होटल रहेको छ । 

पाँचतारे सुविधा दिने गरी यो रिसोर्ट नेपालका २३ व्यवसायीको लगानीमा निर्माण गरिएको हो । रिसोर्ट सञ्चालन समितिका अध्यक्ष कल्याण जोशीका अनुसार अब होटलको व्यवस्थापन सोल्टीले गर्ने छ । रिसोर्टमा १० अत्याधुनिक भिल्ला छन् । यी बाहेक २ स्वीइट भिल्लामा पौडीपोखरी समेत रहेको छ । 

रिसोर्टमा ५२ कोठा छन् । ५ जना अट्ने एउटा, १५० जना अट्ने २ वटा, ७५ जना अट्ने ३ वटा र २५ जना अट्ने २ वटा हल समेत छन् । रेष्टुरेन्टमा  १ पटकमा ३०० जनाले बसेर खान सक्ने सुविधा छ । छुट्टै २५० जना अट्ने सुविधा सम्पन्न बार पनि छ । यससँगै हेल्थ क्लब रहने छ । 

बगैँचा र पौडी पोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । ५ बिघा जमिनमा निर्मित रिसोर्टको बीचबाट सार्वजनिक बाटो भएकाले बाटो मुनिबाट आवत जावतका लागि अण्डर पासको व्यवस्था समेत गरिएको छ । विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको रिसोर्ट नजिकै हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ । 

टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजिल्याण्डको टायल डेक्क्राको छानो होटलमा छ । धेरै जमिन भएकाले तरकारी, फलफूल आफै उत्पादन गरिने छ । यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदल यात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारु कला संस्कृतिमा रमाउने गर्न सकिने उहाँको भनाइ छ । 
 
यससँगै पर्यटकका लागि थारु जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउने उहाँले बताउनु भयो । सोल्टी होटल समूहका उपाध्यक्ष सुदर्शन चापागाईले सम्झौता सँगै अब चितवनमा सोल्टीको व्यवस्थापनमा होटल सञ्चालन हुने बताउनुभयो । नेपालमा विदेशी व्यवस्थापन समूहले ठूला होटल हेरिरहेका छन् । स्वदेशी व्यवस्थापनमा सोल्टी समूहले आफ्नो अनुभवलाई उपयोग गरेर उत्कृष्ठ व्यवस्थापन गर्नसक्ने उहाँ बताउनुहुन्छ । 

विगत ५६ वर्ष देखिको सोल्टी समूहको नेपाली अनुभवलाई उपयोग गर्दै आफ्नो व्यावसायिक क्षमता वृद्धि गरेर उच्चस्तरको व्यवस्थापकीय सेवा दिनसक्ने सोल्टी समूहको दाबी छ । सोल्टीले  काठमाडौं र नेपालगञ्जमा आफ्नै होटल सञ्चालन गर्दै आएको छ भने इटहरी र चितवनमा व्यवस्थापन गर्ने भएको हो । 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update