Kath khabar
भारतको लखनऊमा पाल्तु कुकुरको आक्रमणबाट एक महिलाको मृत्यु


               काठमाडौं, असार ३०। कुकुरलाई मानिसको सबैभन्दा मिल्ने साथी मानिन्छ । कुकुरले घरपरिवारको सुरक्षा गर्ने र खतरा आइपरेमा संकेत दिने भएकोले धेरै मानिसले कुकुरलाई परिवारको सदस्य जस्तै माया, प्रेम दिएर पालेका हुन्छन् । त्यहाँ एउटा भनाइ पनि छ यो पृथ्वीमा कुकुर मात्र त्यस्तो चीज हो जसले तपाईंलाई आफूलाई भन्दा बढी माया गर्छ । तर भारतमा एउटा पाल्तु कुकुरले एकजना महिलाको ज्यान लिएको छ ।

भारतको लखनऊमा मंगलबार आफ्नै घरमा पालिएको पिटबुल जातको कुकुरले एक ८० वर्षीया वृद्धाको ज्यान लिएको छ । घरको सुरक्षाका लागि पालेको पिटबुल कुकुरले वृद्धाको शरिरको पेट, टाउको र अनुहारमा नराम्ररी प्रहार गरेको थियो, जसका कारण उनको पीडादायी मृत्यु भएको थियो ।

वृद्धाले पिटबुललाई टेरेसमा घुमाउदै गर्दा घाँटीमा बाँधिएको चेन खुलेको र त्यसपछि अचानक कुकुरले वृद्धामाथि आक्रमण गरेको थियो । जानकारीका अनुसार कुकुरले एक घण्टा भन्दा बढी समयसम्म वृद्धालाई टोक्दै आक्रमण गरिरहेको थियो । वृद्धा त्यो समयमा घरमा एक्लै भएको र घरमा बाहिरबाट ताल्चा लगाइएकोले अरु पस्न नसक्ने स्थिति भएको छिमेकीहरुले बताएका छन् ।

विश्वभरीमा सबैभन्दा धेरै अनि घातक दुर्घटना निम्त्याउने कुकुर मध्ये ‘पिटबुल’ र ‘रोटवाइलर्स’ लाई सबैभन्दा खतरनाक कुकुरको प्रजातिमा समावेश गरिएको छ । पिटबुल प्रकारका चार प्रजातिहरू अमेरिकन पिटबुल टेरियर, अमेरिकन स्टाफर्डशायर टेरियर, स्टाफोर्डशायर बुल टेरियर र अमेरिकन बुली हुन् ।

यस प्रजातीलाई सबैभन्दा खतरनाक मानिन्छ किनभने विश्वभरी यो कुकुरको टोकाईबाट सबैभन्दा बढि मृत्यु भएको पाइएको छ । जसले गर्दा केहि देशले त यसको प्रजनन गराउन नै प्रतिबन्धित गरेको छ । पिटबुल जातको कुकुर एक अत्यधिक ऊर्जावान कुकुर भएकोले सुरुमा साँढेसँग लड्ने खेलहरूका लागि विकसित गरिएको थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update