Kath khabar
प्राचीन कालको फिरन्ते राउटे र उनीहरुको फेरिँदो जीवनशैली


                काठमाडौं, भदौ २७ । राउटे नेपालको प्राचीन फिरन्ते तथा विश्वकै लोकप्रिय पिछडिएको आदिवासी जनजाति हुन् । उनीहरु दाङ, दैलेख, जाजरकोट, दार्चुला, सुर्खेत, सल्यान, कालिकोट, अछाम, जुम्ला, बैतडी जिल्ला पहाडी घना जंगलमा बसोबास गर्दछन् । स्थायी बसोबास नभएका राउटेहरुलाई वनको राजा पनि भनिन्छ।

जंगल-जंगल फिरन्ते जीवन बिताउनु उनीहरुको वंश परम्परा हो । राउटे समाजभन्दा परै रहेर जीवनयापन गर्न रुचाउने समुदाय हो । खेतीपाती नगर्ने, घर घडेरी जोड्न नहुने, पढ्न पनि नहुने यिनीहरूको मान्यता रही आएको छ। सिलाएका लुगा नलगाउने, धन सञ्चय नगर्ने राउटेहरू कन्दमूल र सिकारबाट आफ्नो जिविकोपार्जन गर्ने गर्दछन् । यिनीहरु पशुपक्षी र बाँदरको सिकार गरी खाने गर्दछन् ।

राउटे जातिको आफ्नै मौलिक संस्कृति, भेषभुषा, चालचलन र भाषा छ । यस समुदायले साउने संक्रान्ति भव्य रूपमा मनाउँछन्, यो महिनाभर बसाइ सर्दैनन् । यिनीहरु नाग पूजा, मुस्तु भैरव र प्रकृति पूजा गर्दछन् । बगेको पानी नपिउने, मुहानको मात्र पानी पिउने उनीहरूको प्रचलन रही आएको छ। विवाहपछि बुढाबुढीले एक अर्काको नाम लिन हुन्न भन्ने उनीहरूको मान्यता छ । उनीहरु काठका कलात्मक भाँडाकुँडा बनाई गाउँतिर गई अन्नसँग साट्ने गर्दछन् ।

एकै ठाउँमा  एक महिना भन्दा बढी नबस्ने राउटेहरू पुर्खाबाट नै एक स्थानमा नबसी हिँडिरहने भएको हुनाले यो समुदायलाई राउटे भनिएको हो । समुदायमा कसैको मृत्यु भएमा वा आवश्यक बन्दोबस्तीका सामानको अभाव भएपछि उनीहरु बसाइसराइ गर्ने गर्दछन् । आफू बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा बाँदर मार्ने जालमा राखेर त्यही ठाउँमा गाड्ने गर्दछन् र उसलाई त्यही बस्ने झुप्रोमा राखी आगो लगाइदिएर तत्काल त्यस ठाउँलाई अशुभ ठानेर सबैजना रुँदै कराउँदै अर्को बासको खोजीमा हिँड्नुपर्ने संस्कार उनीहरूको रहेको छ ।  

उनीहरु मादल बजाएर जंगली नाच नाच्ने, कोहि बिरामी भयो भने जंगली जडिबुटी प्रयोग गर्ने गर्दछन् । यो जाति लोपोन्मुख जाति हो । कुनै दिन पैसा छोए पाप लाग्छ भन्ने राउटेहरु अचेल अन्नसँग साट्नु भन्दा पैसामा साट्न सजिलो मान्न थालेका छन् । अहिले राउटे समुदायको जीवनशैली फेरिँदैछ । लोपोन्मुख राउटे जातिको दैनिक व्यवहार र रहनसहन परिवर्तन हुँदै गइरहेको छ । राउटे पहिलेको तुलनामा रुपैयाँ, पैसा र आधुनिक सामग्रीमा प्रभावित हुदै जान थालेका छन् । उनीहरुको मुख्य शिकार बाँदर जंगलमा पाइन छाडेपछि बाख्रा र कुखुरा किनेर पाल्न थालेका छन् ।

आफैँले स्थानीयस्तरमा उत्पादन गर्ने कपडाको मात्रै प्रयोग गर्ने उनीहरु आजभोलि बजारमा पाइने आधुनिक कपडाको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । स्थायी रुपमा समाजसँग बस्न नचाहने, वनजङ्गलमा घुमन्ते जीवन बिताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समय आधुनिकतातर्फ मोडिएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update