Kath khabar
ललितपुरमा पर्यटन दिवसको अवसरमा बृहत सांस्कृतिक मेला सम्पन्न

               ललितपुर, असोज १२ । ५०० भन्दा धेरै कलाकारको प्रस्तुति सहित विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिएको छ। ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह-आयोजनामा बृहत सांस्कृतिक मेला हिजो मंगलबार पाटन दरबार क्षेत्र मंगलबजारमा भएको हो ।

सांस्कृतिक मेलामा विभिन्न ७ विद्यालयका १०० जना भन्दा धेरै कलाकारहरुले कार्तिक दबली परिसरको मन्दिर तथा खुला क्षेत्र ढाकिने गरे ७ वटै प्रदेशको मौलिक नाच प्रदर्शन गरेका थिए । त्यस्तै ज्यापू समाज यल, बौद्ध विहार संघ, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरका सयौं कलाकारले नायःखिं, धिमे, धाः लगायतको परम्परागत बाजा तथा नाचको प्रस्तुति दिएको थियो । ललित कार्निभल लक्षित कार्यक्रमका लागि विद्यार्थी एवम कलाकारहरुलाई ३ महिना अघि देखि नै प्रशिक्षण दिइरहेको छ ।

त्यस्तै बेलुकीको सांस्कृतिक कार्यक्रम अघि पाटन म्यूजियम परिसरमा रहेको मणि केशव नारायण चोकमा योमरी बनाउने, चिउरा कुट्ने, सुकुल बुन्ने, प्याङ्गगाँउको लोपेन्मुख काठको चिउरा राख्ने भाँडो बनाउने पद्धति लगायतको परम्परागत नेवार जीवनपद्धतिको प्रत्यक्ष प्रस्तुति पनि गरिएको थियो । भने बिहान पर्यटकहरूको स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।

त्यस्तै सांस्कृतिक मेलामा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाको पयर्टनसँग सम्वन्धित वेवसाइटको लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख मंजली शाक्य बज्राचार्य, ललितपुरका प्रमुख जिल्ला अधिकारी, नेपालस्थित विभिन्न देशका राजदूतहरु, जनप्रतिनिधिहरुको उपस्थिति थियो । हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाउने गरिन्छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएको र अहिले पुनरुत्थानको चरणमा रहेको अवस्थामा दिवसलाई नयाँ अवसरको पहिचान र उपयोगमा जोड दिएर मनाएको हो । नेपालले सन् २०२३ देखि २०३२ सम्म नेपाल भ्रमण दशक मनाउने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update