Kath khabar
पर्यटन प्रवदद्र्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

 

              सिन्धुपाल्चोक, असोज २६। सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् ।

पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ । नयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माणलाई गति दिइएको छ । पर्यटन विभागले स्थानीय तहको समन्वयमा रु दुई करोड लागतमा हेलम्बु, सिमीसिदाङ हुँदै लाङ्टाङ पुगिने ३० किलोमिटर पदमार्ग र गाञ्जालापास हुँदै रसुवाको लाङ्टाङ पुगिने ४० किलोमिटर बाटो निर्माण गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

लाङ्टाङ जोड्ने यी दुई पदमार्ग मात्रै हुन् । हेलम्बुको कुटुङ्साङ, ठाडेपानी, गोसाइँकुण्ड, रसुवाको स्याफ्रुबेँसी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा भए पनि चलिरहेको छ । शेर्पाले भन्नुभयो, “हेलम्बु हुँदै लाङ्टाङ अनि पवित्रस्थल गोसाइँकुण्ड पुग्ने पदयात्रीलाई सुरक्षाका लागि पनि पदमार्ग निर्माण गरिएको हो ।” उहाँले सिन्धुपाल्चोक र रसुवाको पर्यटन प्रवद्र्धनका लागि हेलम्बु सेतु बन्ने विश्वास व्यक्त गर्नुभयो । ह्योल्मोभूमि र धार्मिकस्थलका रूपमा चर्चित हेलम्बु कलात्मक मौलिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पदमार्ग निर्माण गरिएको हो । योजनाअनुसार हेलम्बुलाई पदमार्गले घेर्ने लक्ष्य छ ।

पहिले चलनचल्तीमा रहेका पदमार्ग भूकम्पले क्षति  पुर्‍याएको थियो । भत्किएका पदमार्ग हुँदै गन्तव्यसम्म पुग्नका लागि पर्यटकले कष्टकर यात्रा गर्नुपर्ने भएकाले क्षतिग्रस्त भएकालाई पनि मर्मत गरिएको हो । झण्डै एक सय किलोमिटर दूरीमा रहेको काठमाडौँको सुन्दरीजल हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमा गाउँ कुटुङ्साङबाट ठाडेपानी, मेलम्चीघ्याङ, नाकोते, तार्केघ्याङ, घ्याङगुल, शेर्माथान, ककनीसम्म जोड्ने पुरानो पदमार्ग अहिले चलिरहेको स्थानीय गोपाल लामा बताउनुहुन्छ ।

“पुराना पदमार्ग मेटिन लागिसकेको थियो, अहिले हेलम्बु गाउँपालिकाको समन्वयमा पदमार्ग निर्माणले तीव्रता पाएपछि पर्यटक आउने क्रम बढेको छ”, उहाँले भन्नुभयो । प्राचीन गुम्बैगुम्बाको सहर शेर्माथान, ह्योल्मो बस्ती हेर्न पाइने मेलम्चीघ्याङ, घ्याङ्गुल, झिचेन मिलेरेपा गुफा, ढुकु, महागुरू रेन्पोछे छापसम्म पदमार्ग बनाउँदै लगिएको छ । (रासस)

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update