Kath khabar
निर्मल पुर्जाको रेकर्ड तोड्न भन्दै नेपाल आएकी प्रसिद्ध आरोही क्रिस्टिन हरिला चीनको अवरोधका कारण निराश

 

             काठमाडौं, कात्तिक १३। कात्तिक १३।  ६ महिनाभित्र विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने अठोटका साथ नेपाल आएकी नर्वेजियन हिमाल आरोही क्रिस्टिन हरिला चीनको अवरोधका कारण निराश भएर स्वदेश फर्किएकी छिन् ।

विश्व प्रसिद्ध आरोही निर्मल पुर्जाको रेकर्ड तोड्न भन्दै नेपाल आएकी प्रसिद्ध आरोही क्रिस्टिन हरिला चीनका कारण आफ्नो प्रयास असफल भएपछि स्वदेश फर्किएकी हुन् । हरिलाले १४ मध्ये १२ वटा हिमाल आरोहण गरिसकेकी छन् । तर, चोयु र सिसापाङमा हिमाल आरोहण गर्न चीनको बाटो मात्रै सहज भएर र त्यसका लागि चीनले अनुमती नदिएपछि उनी स्वदेश फर्किएको जनाईएको छ।

चीनले अनुमति नदिए पनि उनले ती २ हिमालको आरोहणका लागि नेपालतर्फबाट पनि प्रयास गरेकी थिइन् । तर खराब मौसमका कारण सफल हुन नसकेको हो। स्वदेश फर्किँदै गर्दा हरिलाले आफ्नो नियन्त्रण बाहिरको कारणले चीनबाट अनुमति प्राप्त गर्न नसकेको बताउँदै आगामी वर्ष ६ महिना भित्रै फेरी पनि अर्को प्रयास गर्ने बताएकी छन् ।

‘हाम्रा सबै सम्भावित उपायहरू सकिएका छन् । तर दुर्भाग्यवश हाम्रो नियन्त्रण बाहिरका कारण हामीले समयमै अनुमति प्राप्त गर्न सकेनौ,’ हरिलाले भनेकी छन् । 

२०१९ मा नेपाली आरोही निर्मल पुर्जाले ६ महिनामै ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरी विश्व रेकर्ड बनाएका थिए । हरिला भने उक्त रेकर्ड तोडेर नयाँ विश्व कीर्तिमान कायम गर्न संघर्षरत छिन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update