Kath khabar
पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने


            काठमाडौं, कात्तिक २१ ।  पेट्रोलबाट चल्ने आफ्ना पुराना बाइक वा स्कुटरलाई केही घण्टामै विद्युतीय बाइक वा स्कुटरमा रुपान्तरण गर्न चाहनु हुन्छ ? सुन्दर यातायात प्रालिद्वारा सञ्चालित सुन्दर अटो इन्जिनियरिङ प्रालिले पेट्रोलबाट चल्ने बाइक तथा स्कुटरलाई ३ घण्टाभित्रै विद्युतीयमा परिणत गर्न शुरू गरेको बताएको छ ।

तर यसका लागि पहिले यातायात कार्यालय मार्फत आवश्यक प्रक्रिया पुरा गर्नुपर्छ । सो प्रक्रिया पुरा गरे पश्चात ३ घण्टामै यसलाई विद्युतीयमा रुपान्तरण गर्न सकिने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

आफ्नो २ पांग्रे सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्न चाहनेले बिलबुक र सवारी साधन लिएर काठमाडौंको धुम्बाराहीस्थित सुन्दर अटो इन्जिनियरिङको कार्यालय जानु पर्नेछ । थापाका अनुसार हाल सबै ब्रान्डका स्कुटर र हिरोका बाइकलाई रुपान्तरण गर्ने प्रक्रिया प्रारम्भ भएको छ । विस्तारै अन्य कम्पनीका बाइक पनि रुपान्तरण गरिने उनले बताए ।

पेट्रोलियम पदार्थबाट चल्दै आएका बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्ने अभियान देशव्यापी रूपमै सञ्चालनको तयारी भइरहेको कम्पनीले बताएको छ । बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न आउने ग्राहकको संख्या बढ्दै गएको छ ।

‘पेट्रोलबाट चल्ने बाइक तथा स्कुटरमा २०-२५ किलोमिटर यात्रा गर्दा १ लिटर तेल खर्च हुन्छ,’। ‘त्यही बाइक वा स्कुटरलाई विद्युतीय बनाएमा सोही दूरी बराबरको यात्रा गर्न ७ रुपैयाँ ५० पैसा मात्र खर्च हुन्छ ।’ कम्पनीको दाबी अनुसार हरेक २० देखि २५ किलोमिटरको यात्रामा उपभोक्ताको करीब १७१ रुपैयाँ जोगिनेछ ।

पेट्रोलियम पदार्थको प्रयोग घटाउने उद्देश्यसहित शुरू गरिएको यो अभियान काठमाडौं र बुटवलमा शुरू भइसकेको र छिट्टै ढल्केबर र नारायणगढमा समेत शुरू गरिने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न १ लाख रुपैयाँसम्म खर्च लाग्छ । अब चाँडै नै चारपांग्रे सवारी साधनलाई पनि विद्युतीय बनाउन थालिने जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update