Kath khabar
ढोरपाटनमा एउटा नाउर मार्न २० लाख तिर्छन् पर्यटक


                ढोरपाटन, कात्तिक २५ ।  ढोरपाटन शिकार आरक्षमा वर्षको पहिलो शिकारयाम चलिरहेको छ । विदेशी शिकारी नाउर र झारलको शिकारमा रमाइरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो याममा ९ नाउर र ६ झारलको शिकार अनुमति दिएको छ ।

केही शिकारी शिकार खेलेर फर्किसकेका छन् भने कोही आरक्ष पुग्ने सुरसारमा छन् । शिकार कम्पनी ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीका अनुसार तोकिएका कोटामध्ये ५ नाउर र २ झारलको शिकार भइसकेको छ ।

उनको कम्पनी मार्फत ढोरपाटन पुगेका जर्मन शिकारीले फागुने ‘ब्लक’मा झारलको शिकार गरेर फर्किसकेका छन् । नाउर शिकारका लागि केही दिनमा अमेरिकन शिकारी सहित जाने तयारी भइरहेको प्रबन्ध निर्देशक पराजुलीले बताए ।

‘बार्से’ ब्लकमा नाउरको शिकार गरिनेछ । 'हाम्रो कम्पनी मार्फत नाउर सिकारका लागि क्यानेडियन नागरिक पनि आउने तय भएको थियो, अस्वस्थताका कारण अन्तिममा उनी आएनन्', प्रबन्ध निर्देशक पराजुलीले भने, 'अरु पनि केही शिकारी नआएका कारण तोकिए जति नाउर र झारलको शिकार नहुने भएको छ ।'

शिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले २ अमेरिकन शिकारी दोगाडी र घुस्तुङ ‘ब्लक’मा शिकार खेलेर गत मङ्गलवार फर्किएको बताए । 'यही कात्तिक २ गते आरक्ष पुगेको हाम्रो कम्पनीको शिकार टोली झण्डै २ साता त्यहाँ बिताएर फर्किसकेको छ', उनले भने, 'यो यामको शिकार अब अन्तिमतिर आइपुगेको छ, आउँदो मङ्सिर दोस्रो साता भित्र सबै फर्किसक्छन् ।'huntttt1668155088.jpeg

आरक्षमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स लगायत शिकार कम्पनीले शिकार खेलाउँदै आएका छन् । बर्सेनि (असोज-मङ्सिर) र (फागुन-वैशाख) गरी २ याममा शिकार खुला हुन्छ । शिकार खेल्न खर्चिला पर्यटक ढोरपाटन आउँछन् ।

विभागले गराउने बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी शिकारीलाई नेपाल भित्र्याउँछन् । यो याममा एउटा नाउर शिकारमा २० लाख रुपैयाँ र झारललाई ६ लाख रुपैयाँसम्म राजस्व तिर्न कम्पनी तयार भएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक पराजुलीले बताए । 

शिकार कम्पनी बीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा शिकारको राजस्व दर घटबढ हुने गर्छ । कुनै याममा शिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहान्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् ।

शिकार पर्यटनमा विश्वमै प्रख्यात ढोरपाटन आउन विदेशीले लाखौँ खर्चन्छन् । उनीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । आधार शिविरबाट आरक्षका प्रतिनिधि, पथप्रर्दशक, भरिया, सहयोगी सहित उनीहरू शिकार ‘ब्लक’सम्म पुग्छन् । आधार शिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ‘ब्लक’मा पुग्न २-३ दिनसम्म लाग्छ ।huntt1668154721.jpg 

शिकार टोली हतियार सहित सबै बन्दोबस्ती लिएर जाने गर्छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात शिकार ‘ब्लक’ छन् । शिकारीले ‘बल्क’ अनुसार तोकिएको सङ्ख्यामा नाउर र झारलको शिकार गर्न पाउने आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कँडेलले बताए ।

हरेक ५-५ वर्षमा गरिने नाउर र झारलको गणनाका आधारमा विभागले शिकारको कोटा तोक्ने गरेको उनको भनाइ छ । अहिले वर्षमा २० नाउर र ११ झारलको शिकार गरिँदै आएको छ । शिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनी लगायत देशबाट पेसेवर शिकारी ढोरपाटन आउने गरेका छन् । 

सौखिन र खर्चिला शिकारी पर्यटकको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एक मात्र वैधानिक शिकार गन्तव्य हो । १ हजार ३ सय २५ वर्ग किलोमीटरमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू-भागमा अवस्थित छ । ढोरपाटनको शिकार पर्यटनबाट राज्यले बर्सेनि करोडौँ रुपैयाँ राजस्व पाउने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update