Kath khabar
३१ लाख रुपैयाँमा १४ सिटे इलेक्ट्रीक मिनीबस

 

               काठमाडौं, मंसिर २१ ।  बजारमा ब्याट्री इलेक्ट्रीक भेहिकलको माग बढ्न थालेसँगै सार्वजनिक यातायातमा पनि विद्युतीय साधनको चर्चा बढ्न थालेको छ । नाडाले दशैंअघि इलेक्ट्रीक साधनको मात्रै अटो शो आयोजना गरेर ब्यवसायीको तयारीका विषयमा देशलाई नै देखाएको थियो ।

अहिले एउटा समूहले सानै स्केलमा भएपनि भृकुटीमण्डपमा ईभी शो गरिरहेको छ । यही ईभी शोमा ३१ लाख मूल्य पर्ने १४ सिट क्षमताको मिनीवस प्रदर्शनी गरिएको छ ।

बृज मोटर ग्रुप अन्तर्गतको बृज ईभी प्रालिले इलेक्ट्रीक मिनीबस प्रदर्शनी गरेको हो । भारतमा निर्माण भएको यो मिनीबस चलन चल्तीको मिनीबस जस्तै बनावटमा देखिएपनि यसको उचाई भने केही कम छ ।

eev1670392681.jpg

इलेक्ट्रीक पावरवाट चल्ने यो मिनीबसमा ड्राइभर बाहेक १४ जनाले आरामदायी सिटमा बसेर यात्रा गर्न पाउने छन् । कम्पनीले यो मिनीबसमा २८.८ किलोवाट आवरको लिथीयम आयोन फस्फेट ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई फुलचार्ज गर्दा १२० देखि १५० किलोमिटरसम्म चलाउन मिल्ने कम्पनीको दावी छ ।

यो मिनीबसको लम्बाई ४,४६० एमएम, चौडाई १,९०० एमएम र चौडाई २,१५० एमएम रहेको छ । रियल ह्वील ड्राइभ तथा ५ स्पीडको गियरबक्स रहेको यो मिनीबसमा १२ किलोवाटको मोटर रहेको छ ।

मिनीबसमा अधिकतम पीक पावर १८ किलोवाट क्षमताको मोटर रहेको छ । यसको मतलव यो गाडीको अधिकतम पावर २४ पीएस मात्रै हो । स्कुल, कलेज, होटल तथा सहरी क्षेत्रको छोटो दुरीमा सार्वनिक यातायातको रुपमा यसलाइए चलाउन मिल्छ । कम्पनीका अनुसार मिनीबसलाई फुल चार्ज गर्न ४ देखि ६ घण्टासम्म लाग्ने छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update