Kath khabar
यसरी भएको थियो ललितपुरको नामाकरण


              ललितपुर, मंसिर २८ । पाटनको गोल्डेन टेम्पलदेखि १०० मिटर अगाडि झतापोल भन्ने ठाउँ छ जहा गणेशको सानो मन्दिर छ । त्यसैको देब्रेतिर सानो चोकमा खाबो जस्तो देखिने एउटा स्तम्भ देख्न सकिन्छ । त्यस स्तम्भलाई ललित स्तम्भ भनिन्छ । स्तम्भ उक्लिने भर्याङ्गसँगै जोडेर एउटा पर्खाल बनाइएको छ। एकातिर भित्तामा एउटा रङ्गिन मूर्ति पनि रहेको छ जुन मूर्तिलाई 'ललित' भनिन्छ । ओठमाथि जुँगा, ठुल्ठुला आँखा, नेवार समुदायका पुष्प जस्तै देखिने ललित को होलान् ?

किम्वदन्तीका अनुसार एक समय उपत्यकामा १२ वर्षसम्म पानी नपरी सुख्खा परेको थियो । त्यसबाट छुटकारा दिलाउन मछिन्द्रनाथले मात्रै सक्ने भन्ने निधो भएपछि भक्तपुरका राजा, कान्तिपुरका आचार्य र ललितपुरका एक कृषक भारतको असाम प्रदेशको कामारुकामाक्षमा गई साधनाको बलले उपत्यकामा ल्याएको मछिन्द्रनाथलाई कुन नगरमा स्थापित गर्ने भन्ने विषयमा तीनवटै नगरबीच मतभेद हुँदा तिन नगरको सबैभन्दा वृद्ध जो छ त्यसलाई निर्णय गराउने निधो भयो । त्यस अनुसार ललितपुरका ललित भन्ने एक कृषक वृद्ध उमेर भएकालाई सातवटा ओखलमाथि चढाई उपस्थित जनसमूहलाई निर्णय सुनाउन लगाउँदा उनले भक्तपुरका राजा तथा कान्तिपुरको आचार्यको भूमिका समेत वास्ता नगरी मछिन्द्रनाथ बोकेर ल्याउने मानिस ललितपुरको भएकोले सोही व्यक्तिको नगरमा स्थापित गर्नुपर्छ भन्ने निर्णय सुनाउँदा सातैवटा ओखल सहित वृद्ध भाँसिए । त्यसैले उक्त स्थानलाई 'ललितपतन' भन्ने नामकरण गरियो । कालान्तरमा सोही ठाउको नामबाट ललितपुर तथा पाटन भन्ने नाम रहेको हो भनिन्छ ।

अर्को किम्वदन्ती अनुसार ललितारन्य भन्ने वन फाडेर वस्ती विकास गरिएको हुनाले उक्त नगरलाई ललितपुर भनिएको पनि भनिन्छ । यो स्तम्भ र मूर्ति अगाडि एउटा घर रहेको छ । ललितपुर नगरपालिकाले उक्त घरलाई पौराणिक पुरुष ललितको निवास भएको उल्लेख गरेको छ । ललित तिनै व्यक्ति हुन् जसको नामबाट ललितपुर जिल्लाको नामकरण भएको थियो । हाल यो घर भजन स्थलमा परिणत भएको छ भने पाटीको पहिलो तल्ला भने सामुदायिक कार्यहरूको लागि प्रयोग हुँदै आएको छ ।

- सागर लामिछाने

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update