Kath khabar
कपालमा पर्ने चायाको लागि घरमै गर्नुहोस् आयुर्वेदिक उपचार

 

             काठमाडौं, पुस ४ । टाउकोको छालामा उत्पन्न हुने फुस्रो पत्र नै चाया हो । चायाका कारण कपाल फोहोर मात्र होइन, चिलाउने र कपाल झर्ने जस्ता समस्या पनि आउन थाल्छ । चाया परेपछि कपाल छुने बित्तिकै कपडामा झर्ने समस्या हुन्छ । जसले गर्दा समुहमा बस्दा असहज स्थितिको सामना गर्नुपर्ने हुन्छ। अझ यो जाडो मौसममा झन चायाको समस्या धेरै हुन्छ ।

कपालको हेरचाहमा कमी तथा लामो समयसम्म टाउकोमा टोपी तथा स्कार्फहरु लगाउनाले पनि चायाको समस्या हुने गर्छ । अझ चाया फंगसबाट उत्पन्न हुने भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सहजै सर्न सक्छ । चाया हुन नदिनको लागि कपालमा लामो समयसम्म तेल राख्नु हुँदैन । चायाबाट छुटकारा पाउन घरमै आयुर्वेदिक उपायहरू अपनाउन सकिन्छ । जसको प्रयोग गर्न सजिलो तथा पैसा खर्च पनि नहुने हुन्छ ।

नीमको पात
एन्टिब्याक्टेरियल र एन्टिफङ्गल गुणले भरिपूर्ण नीमले टाउकोको चायालाई हटाउँछ। नीमको पात पनि कपाल चिलाउने समस्या हटाउन प्रयोग गर्न सकिन्छ। यसका लागि नीमको पातलाई पानीमा उमाल्नुहोस् । अब सादा पानीमा नीमको पानी मिसाएर टाउको धुनुहोस्। यसले चाया हटाउनेछ। नीमको रसलाई पानीमा नमिसाइ प्रयोग नगर्नुहोस् किनभने यसले छालामा जलन हुन सक्छ।

लसुन
लसुनमा भएका एन्टिफङ्गल गुणहरू चाया हटाउन विशेष गरी उपयोगी छन् । दुई वटा लसुन लिनुहोस् र तिनीहरूलाई कुट्नुनुहोस् र पानीमा मिसाउनुहोस्। यो पानी टाउकोमा लगाउनुहोस् र केहि समय पछि धुनुहोस्। कपालमा लसुनको गन्ध आउन नदिन यो पानीमा मह मिसाएर प्रयोग गर्न सकिन्छ ।

मेथी
कपालबाट चाया हटाउन मेथीको प्याक प्रयोग गर्नुहोस्। यो हेयर प्याक बनाउन मेथीको दाना रातभर भिजाउनुहोस्। दाना भिजाएर पानी छान्नुहोस् र दानालाई पिसेर पेस्ट बनाउनुहोस्। यस पेस्टलाई टाउकोमा लगाउनुहोस् र एक घण्टासम्म राख्नुहोस् र त्यसपछि यसलाई धुनुहोस्।

 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update